Techie IT
२०८३ जेष्ठ १०, आइतबार

ग्रीन कार्डमा ट्रम्पको कडा प्रहार, अमेरिकामा रहेका विदेशीले आवेदन कसरी दिने?


अमेरिकाले 'ग्रीन कार्ड' (स्थायी बसोबास अनुमति) प्राप्त गर्न चाहने विदेशी नागरिकका लागि आप्रवासन नियममा व्यापक कडाइ गरेको छ।

नयाँ नीतिअनुसार अब अमेरिकाभित्र अस्थायी रूपमा बसिरहेका विदेशी नागरिकले ग्रीन कार्डको आवेदन दिन अनिवार्य रूपमा आफ्नै देश फर्किनुपर्नेछ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (USCIS) ले शुक्रबार नयाँ निर्देशिका जारी गर्दै अमेरिकाभित्रैबाट 'स्टाटस' (बसाइँ स्थिति) परिवर्तन गरेर ग्रीन कार्ड लिने बाटो बन्द गरिदिएको हो।

अमेरिकी गृह सुरक्षा विभागले अस्थायी रूपमा अमेरिकामा रहेका विदेशीहरूले अब आफ्नै देश फर्केर त्यहाँस्थित अमेरिकी दूतावासमार्फत मात्र ग्रीन कार्डको प्रक्रिया अघि बढाउनुपर्ने स्पष्ट पारेको छ।

विभागले यस कदमलाई आप्रवासन कानुनको सही कार्यान्वयन भएको दाबी गरेको छ। कानुनी 'लुपहोल' (छिद्र) हरूको दुरुपयोग गर्दै स्थायी बसोबास अनुमति लिने प्रवृत्तिलाई रोक्न यो नीति ल्याइएको विभागको भनाइ छ।

"अस्थायी रूपमा अमेरिकामा रहेका र ग्रीन कार्ड चाहने विदेशी नागरिक आवेदनका लागि आफ्नै देश फर्किनुपर्छ। यो नीतिले आप्रवासन प्रणालीलाई कानुनको मर्मअनुसार सञ्चालन गर्न मद्दत गर्नेछ र लुपहोलको प्रयोगलाई निरुत्साहित गर्नेछ," युएससिआइएसद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

नयाँ व्यवस्थाले अन्य प्रशासनिक मुद्दा र आवेदन प्रक्रियाहरू छिटो टुंग्याउन, तथा स्रोत र जनशक्तिलाई सही ठाउँमा केन्द्रित गर्न मद्दत पुग्ने दाबी समेत निकायको छ।

मानवअधिकारवादी संस्थाहरूद्वारा तीव्र विरोध
शरणार्थी तथा आप्रवासीका क्षेत्रमा कार्यरत संस्थाहरूले ट्रम्प प्रशासनको यस निर्णयको तीव्र विरोध गरेका छन्। आप्रवासी सहायता संस्था 'एचआइएएस' (HIAS) ले यो नीतिको आलोचना गर्दै मानव बेचबिखनबाट जोगिएका व्यक्ति, दुर्व्यवहार र बेवास्ता झेलेका बालबालिकाहरू समेत यसबाट गम्भीर मर्कामा पर्ने जनाएको छ। उनीहरूलाई पुनः तिनै जोखिमपूर्ण देशहरूमा फर्केर ग्रीन कार्डको प्रक्रिया पूरा गर्न बाध्य पारिनु अमानवीय भएको भन्दै संस्थाले चिन्ता व्यक्त गरेको छ।

यो निर्णय राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले आप्रवासन नियमनलाई कठोर बनाउने अभियानअन्तर्गत चालेको पछिल्लो रणनीतिक कदम हो।

यसअघि ट्रम्प प्रशासनले विद्यार्थी, सांस्कृतिक आदानप्रदान कार्यक्रमका सहभागी र सञ्चारकर्मीहरूको भिसा अवधिमा भारी कटौती गरेको थियो। अमेरिकी विदेश मन्त्रालयका अनुसार ट्रम्प पुनः सत्तामा आएयता मात्रै एक लाखभन्दा बढी विदेशीहरूको भिसा रद्द भइसकेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट