अविरल वर्षाले देशका मुख्य राजमार्ग ठप्प, सवारी आवागमनमा रोक
नेपाल प्रहरीले जारी गरेको शनिबार बिहान ७ बजेसम्मको तथ्यांकअनुसार अविरल वर्षाका कारण आएको बाढी र पहिरोले देशभरका मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। बागमती र कोशी प्रदेशका विभिन्न जिल्लामा सडक सञ्जाल पूर्ण रूपमा टुटेको छ भने सम्भावित जोखिमलाई मध्यनजर गर्दै दर्जनौँ सडक खण्डमा रात्रिकालीन सवारी आवागमनमा पूर्ण रोक लगाइएको छ।
प्रमुख राजमार्गहरूको अवस्था:
पृथ्वी राजमार्ग: धादिङको बेनीघाट, कृष्णभीर र गजुरीमा खसेको पहिरोका कारण यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ। अर्को सूचना जारी नभएसम्मका लागि यस क्षेत्रमा चल्ने सम्पूर्ण सवारी साधनहरूलाई रोक लगाइएको छ।
बीपी र अरनिको राजमार्ग: काभ्रेपलाञ्चोकको रोशी र धुलिखेलमा गएको पहिरोले यी दुवै मुख्य राजमार्ग पूर्ण रूपमा बन्द भएका छन्।
कान्तिको लोकपथ र महेन्द्र राजमार्ग: ललितपुरको भट्टेडाँडा र बिखेंधारा तथा मकवानपुरको भीमफेदी र नेवारपानीमा गएको पहिरोले सडक अवरुद्ध पारेको छ। नुवाकोटको पासाङ ल्हामु तथा टोखा-छहरे सडक खण्ड पनि बन्द छन्।
कोशी प्रदेश: ओखलढुंगाको भँडारे खोलामा आएको बाढीले सिद्धिचरण राजमार्ग तथा पाँचथरको नावाखोला र दोभाने खोलामा गएको बाढी-पहिरोले तमोर करिडोर र मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा बन्द गराएको छ।
भारी वर्षाको जोखिमका कारण कोशी प्रदेशका सोलुखुम्बु, भोजपुर, इलाम, खोटाङ, उदयपुर र बागमती प्रदेशका काभ्रे, सिन्धुली, मकवानपुर तथा दोलखामा रात्रिकालीन सवारी आवागमनमा पूर्ण रोक लगाइएको छ। प्रशासनले अत्यावश्यक बाहेकका यात्रा नगर्न आग्रह गरेको छ भने एम्बुलेन्स, दमकल र खाद्यान्न बोकेका सवारी साधनलाई प्रहरी समन्वयमा सञ्चालन गर्न दिइएको छ।
ठाउँ-ठाउँमा सडक अवरुद्ध हुँदा सयौं यात्रु अलपत्र परेका छन्। यसैबीच, बाढी पूर्वानुमान महाशाखाले नारायणी नदी र दरमखोलामा जलसतहले सतर्कता तह पार गरेको र सतह थप बढ्ने सम्भावना रहेको भन्दै तटीय क्षेत्रका बासिन्दालाई आज साँझसम्मै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस