ट्रम्प र नेतान्याहुबिच गहिरिँदो दरार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबिचको आपसी सम्बन्धमा गम्भीर दरार आउन थालेको र उनीहरू एकअर्काबाट टाढिँदै गएको दाबी गरिएको छ। एक पूर्व उच्च इजरायली कूटनीतिज्ञले दुई शक्तिशाली नेताबिचको सम्बन्ध पहिले जस्तो सुमधुर नरहेको खुलासा गरेका हुन्।
पूर्व इजरायली कन्सुल जनरल अलोन पिन्कासले अमेरिकी सञ्चारमाध्यम सीएनएनसँग विशेष कुराकानी गर्दै दुवै नेताको बदलिँदो सम्बन्ध र सोचबारे टिप्पणी गरेका छन्। अहिलेको चिसोपनलाई चित्रण गर्दै उनले भने, ‘ट्रम्प र नेतान्याहु अब एउटै पेजमा मात्र होइन, एउटै किताबमै पनि छैनन्।’
पिन्कासका अनुसार पछिल्ला दुई हप्ताको अवधिमा राष्ट्रपति ट्रम्पले इजरायली प्रधानमन्त्री नेतान्याहुबारे गरेका विभिन्न सार्वजनिक टिप्पणीहरूले दुवै नेताबिचको बढ्दो दूरीलाई स्पष्ट रूपमा सतहमा ल्याइदिएको छ।
यसैगरी, पूर्व कन्सुल जनरल पिन्कासले इजरायलले लेबनानमा इरान समर्थित सशस्त्र समूह हिजबुल्लाह विरुद्ध चलाइरहेको सैन्य अभियानप्रति पनि गम्भीर संशय व्यक्त गरे। इजरायलले लेबनानमा आक्रमण तीव्र पारे पनि यो सङ्घर्षलाई कसरी तार्किक निष्कर्षमा पुर्याउने र युद्धबाट कसरी सुरक्षित बाहिर निस्कने भन्नेबारे इजरायलसँग कुनै स्पष्ट खाका र रणनीति नदेखिएको उनले औँल्याए।
इजरायलको आन्तरिक राजनीतिको तिखो विश्लेषण गर्दै पिन्कासले भने, ‘रणनीतिक रूपमा इजरायलसँग कुनै अन्तिम योजना छैन, यहाँ केवल राजनीतिक खेल खेलिँदै छ। नेतान्याहु चुनावतर्फ अघि बढिरहेका छन् र उनलाई आफ्नो निहित स्वार्थका लागि निरन्तर युद्धको अवस्था कायम राख्नुपर्ने बाध्यता छ।’
उनका अनुसार प्रधानमन्त्री नेतान्याहुको दृष्टिमा मुलुकमा निरन्तर तनाव र युद्धको वातावरण सिर्जना भइरहनु नै उनको व्यक्तिगत राजनीतिक अस्तित्व टिकाइराख्ने प्रमुख हतियार बनेको छ। सोही स्वार्थका कारण पनि उनी युद्धलाई बिनानिष्कर्ष तन्काउन लागिपरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस