श्रीलंकाको पहिलो महिला प्रधानमन्त्री बनिन् हरिनी
श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले पूर्वप्राध्यापक हरिनी अमरसूर्यालाई मंगलबार प्रधानमन्त्रीमा नियुक्त गरेका छन्। राष्ट्रपति निर्वाचनपछि पदबाट राजीनामा दिएका प्रधानमन्त्री दिनेश गुणवर्द्धनेको ठाउँमा दिसानायकेले अमरसूर्यालाई प्रधानमन्त्री नियुक्त गरेका हुन्।
राष्ट्रपतिले अमरसूर्यालाई न्याय, शिक्षा, श्रम, उद्योग, विज्ञान तथा प्रविधि, स्वास्थ्य र लगानीजस्ता प्रमुख मन्त्रालयको जिम्मेवारी दिएका छन्। नवनियुक्त प्रधानमन्त्री हरिनी अमरसूर्याले मंगलबार शपथ ग्रहण गरिन्।
हरिनी, सन् २००० मा सिरिमावो बन्दरनायके पछि प्रधानमन्त्रीको पद सम्हाल्ने पहिलो महिला नेता हुन्। उनी श्रीलंकाको १६औँ प्रधानमन्त्री बनेकी छन् र सिरिमावो तथा चन्द्रिका बन्दरनायके कुमारतुंगापछि प्रधानमन्त्री बन्ने तेस्रो महिला हुन्।
हरिनी अमरसूर्याले युवा विकास, बाल संरक्षण र लैंगिक असमानताको विषयमा वकालत गर्दै आएकी छन्। हालको स्थितिमा, श्रीलंकामा छिट्टै संसदीय निर्वाचनको अपेक्षा गरिएको छ, र यसबीच सानो आकारको मन्त्रिपरिषद् गठन गरिएको छ।
राष्ट्रपति दिसानायकेले आफू निर्वाचित भएपछि संसद् विघटन गर्ने संकेत दिएका थिए। भ्रष्टाचारविरोधी र गरिबीविरोधी नीतिका कारण हालैका वर्षमा चर्चामा आएका दिसानायके सन् २०२२ मा अर्थतन्त्र धराशायी भएपछिको पहिलो राष्ट्रपतीय निर्वाचनमा विजय भएका हुन्। सन् २०१९ को राष्ट्रपतीय चुनावमा उनले जम्मा ३ प्रतिशत मत प्राप्त गरेका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस