उरुग्वेका पूर्वराष्ट्रपति जोसे मुजिकाको ८९ वर्षमा निधन

उरुग्वेका सामाजिक न्याय र सरल जीवनशैलीका प्रतीक मानिने पूर्वराष्ट्रपति जोसे मुजिकाको ८९ वर्षको उमेरमा निधन भएको छ । उनी विगत एक वर्षदेखि क्यान्सर रोगसँग सङ्घर्ष गरिरहेका थिए ।
१९६० को दशकमा वामपन्थी सशस्त्र समूह ‘टुपामारोस’का नेता बनेका मुजिका क्युबाली क्रान्तिबाट प्रेरित थिए । सन् १९६० र ७० को दशकमा उनले राष्ट्रिय सेनाविरुद्ध सशस्त्र आन्दोलनको नेतृत्व गरेका थिए । उरुग्वेमा सैन्य तानाशाहीको समयमा उनी १५ वर्षसम्म जेलमा राखिए । उनले जेलमा कठोर यातना सहनुपर्यो । सन् १९८५ मा उरुग्वेमा प्रजातन्त्र पुनर्स्थापित भएपछि उनी जेलमुक्त भएका थिए ।
प्रजातान्त्रिक राजनीतिमा फर्किएपछि, सन् १९८९ मा उनले पूर्व लडाकुहरूसँग मिलेर मुभमेन्ट अफ पपुलर पार्टीसिपेसन (MPP) नामक राजनीतिक दल स्थापना ग । त्यसपछि सन् २००९ को राष्ट्रपति चुनावमा उनले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गरी देशको सर्वोच्च पदमा निर्वाचित भए ।
सन् २०१० देखि २०१५ सम्म राष्ट्रपतिको रूपमा कार्यरत मुजिकाले अनेक ऐतिहासिक सुधार ल्याए । उनले गाँजा खेतीलाई वैधानिक बनाए, गर्भपतनलाई कानुनी मान्यता दिए र समलिंगी विवाहलाई अनुमति दिएका थिए । कार्यकालभरि पनि उनले साधारण जीवनशैली नछाडी आफ्नै फार्ममा खेती किसानी गर्दै बसे ।
उनको निधनप्रति वर्तमान राष्ट्रपति यामान्डु ओर्सीले गहिरो दुःख व्यक्त गर्दै मुजिकाको मृत्युलाई देशको ठूलो क्षति भनेका छन् । ओर्सी मुजिकाका निकट सहयोगी मानिन्छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस