युक्रेनसँगको शान्ति सम्झौताको मस्यौदा तयार गर्दै रूस

रूसी विदेशमन्त्री सेर्गेई लावरोभले मस्कोले युक्रेनसँग दीर्घकालीन शान्ति सम्झौताका लागि आवश्यक सर्तहरूको समावेश भएको दस्तावेजको मस्यौदा तयार गरिरहेको जानकारी दिएका छन् । उनका अनुसार यो मस्यौदा कैदीहरूको आदान–प्रदान प्रक्रिया सम्पन्न भएपछि प्रस्तुत गरिनेछ ।
रूसी विदेश मन्त्रालयको वेबसाइटमा प्रकाशित विज्ञप्तिमा विदेशमन्त्री लावरोभले रूस किभसँग तीन वर्षभन्दा बढी समयदेखि चलिरहेको युद्धको शान्तिपूर्ण समाधानमा प्रतिबद्ध रहेको उल्लेख गरेका हुन् । उनले पछिल्लो समयमा युक्रेनले गरेको निरन्तर ड्रोन आक्रमणका कारण रूसको हवाई यातायात प्रभावित भएको पनि जनाएका छन् ।
लावरोभले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा भएका शान्ति प्रयासहरूलाई युरोपेली मुलुकहरूले असफल बनाउन युक्रेनलाई उक्साएको आरोप लगाउँदै रूस सधैं वार्ताका लागि खुला रहेको र शान्तिपूर्ण समाधानमा पूर्ण रूपमा समर्पित रहेको बताए ।
हाल सम्झौताको दोस्रो चरणमा काम भइरहेको जानकारी दिँदै लावरोभले मस्यौदा विश्वसनीय र दीर्घकालीन शान्तिका लागि आवश्यक सर्तहरूको रूपरेखा भएको उल्लेख गरेका छन् । कैदीहरूको आदानप्रदान पूरा भएपछि रूसले मस्यौदा युक्रेनमा पठाई थप छलफलका लागि तयार रहेको उनले स्पष्ट पारेका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस