इरानद्वारा हर्मुज स्ट्रेट बन्द गर्ने प्रस्ताव पारित, विश्वव्यापी तेल आपूर्तिमा सङ्कटको चेतावनी

इरानको संसदले आइतबार अमेरिकी हवाई आक्रमणको प्रत्युत्तरमा हर्मुज स्ट्रेट बन्द गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ । यो प्रस्ताव अब सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्बाट अन्तिम स्वीकृति पर्खिरहेको छ ।
अमेरिकी हवाई हमलाले इरानका नतान्ज, फरडओ र इस्फहानस्थित आणविक स्थलहरूमा ठूलो क्षति पुगेको छ । यलाई तेहरानले "स्पष्ट आक्रमण" भनेको छ । यसैको प्रतिक्रिया स्वरूप इरानले विश्वको प्रमुख तेल ढुवानी मार्ग बन्द गर्ने कदम चालेको हो ।
हर्मुज स्ट्रेटको महत्त्व
स्ट्रेट अफ हर्मुज पर्सियन खाडी र अरब सागरलाई जोड्ने एक महत्त्वपूर्ण समुद्री मार्ग हो । यो अन्तर्राष्ट्रिय व्यापार र ढुवानीका लागि अत्यन्तै महत्त्वपूर्ण छ र यसलाई कच्चा तेल व्यापारको सबैभन्दा ठूलो 'चेकप्वाइन्ट'का रूपमा लिइन्छ ।
अमेरिकी ऊर्जा सूचना प्रशासन (EIA) का अनुसार, विश्वको करिब २० प्रतिशत तेल र २० प्रतिशत लिक्विफाइड न्याचुरल ग्यास यही साँघुरो मार्ग हुँदै ढुवानी हुन्छ । हरेक दिन करिब २०.९ मिलियन ब्यारेल तेल र यससम्बन्धी उत्पादनहरू यसै मार्गबाट विशेष गरी भारत, चीन, जापान, दक्षिण कोरिया लगायत विश्वका विभिन्न भागमा जाने गरेको छ ।
साउदी अरब, इराक, कुवेत, कतारजस्ता प्रमुख तेल उत्पादक देशहरूको तेल यहीँबाट निर्यात हुने भएकाले यसमा कुनै अवरोध आए विश्वव्यापी तेल आपूर्तिमा गम्भीर समस्या आउन सक्छ । त्यसैले गर्दा तेलको मूल्य आकाश छुन सक्ने जानकारहरूको चेतावनी छ । जेपी मोर्गनको विश्लेषणअनुसार हर्मुज स्ट्रेट बन्द भएमा तेलको मूल्य प्रतिब्यारेल १२० डलरसम्म पुग्न सक्छ ।
इरानी सांसद मोहम्मद हसन असफारीले यो प्रस्ताव एउटा सुरक्षा रणनीतिक विकल्प भएको र यसलाई तत्काल लागू नगरी परिस्थितिअनुसार प्रयोग गरिने बताएका छन् । वासिङ्टनले यसमा प्रत्यक्ष प्रतिक्रिया दिएको छैन, तर ह्वाइट हाउसले स्थितिलाई नजिकबाट अनुगमन गरिरहेको र क्षेत्रीय व्यापार स्वतन्त्रता सुनिश्चित गर्न पहल भइरहेको जनाएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस