Techie IT
२०८२ असार ३०, सोमबार

इजरायली हमलामा इरानी राष्ट्रपति घाइते भएको खुलासा


गत महिना इरान र इजरायलबीच भएको १२ दिने युद्धको क्रममा १६ जुनमा इजरायली हमलामा इरानी राष्ट्रपति मसुद पजाकियान घाइते भएको खुलासा भएको छ । इरानी समाचार संस्था ‘फार्स’ले हालै मात्रै उक्त जानकारी सार्वजनिक गरेको हो ।

रिपोर्ट अनुसार, जुन १६ मा इजरायलले तेहरानको पश्चिमी क्षेत्रमा रहेको एक भवनमा ६ वटा मिसाइल प्रहार गरेको थियो । सो भवनमा त्यो बेला इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को बैठक चलिरहेको थियो।

बैठकमा संसदका सभामुख मोहम्मद बगेर गालिबाफ, न्यायपालिका प्रमुख घोलाम–होसेन मोहसेनी एजेईआईसहित देशका अन्य उच्चपदस्थ अधिकारीहरू उपस्थित थिए।

यद्यपि ती अधिकारीहरू भवनको तल्लो तलामा रहेकाले मिसाइल आक्रमणको प्रत्यक्ष प्रभाव उनीहरूमाथि खासै परेको थिएन । हमलापछि उनीहरू आपतकालीन गेटमार्फत बाहिर निस्कन सफल भएको रिपोर्टमा उल्लेख छ ।

फार्सको दाबीअनुसार, इजरायली आक्रमण राष्ट्रपति पजाकियानलाई लक्षित गर्दै गरिएको थियो । यसअघि पनि इजरायली सेनाले २०२४ अक्टोबर १ मा लेबनानको बेरुतमा हिजबुल्लाह प्रमुख हसन नसरल्लाहमाथि लक्षित आक्रमण गरेको थियो । सो हमलामा विषालु धुवाँका कारण ६४ वर्षीय नसरल्लाहको मृत्यु भएको बताइएको थियो ।

१६ जुनको हमलामा इजरायली क्षेप्यास्त्रले भवनको मुख्य प्रवेशद्वार र भेन्टिलेसन प्रणालीलाई लक्षित गरेको थियो, जसको उद्देश्य भित्र रहेका व्यक्तिहरूलाई निसास्सिने वातावरणमा फसाउनु थियो।

हमलापछि भवनको विद्युत् आपूर्ति पनि काटिएको थियो। तर आपतकालीन तयारीअन्तर्गत निर्माण गरिएको इमर्जेन्सी गेट प्रयोग गरी राष्ट्रपति पजाकियानसहित अन्य अधिकारीहरू बाहिर निस्कन सफल भए। भाग्ने क्रममा राष्ट्रपतिको खुट्टामा चोट लागेको तथा केही अन्य अधिकारीहरू सामान्य घाइते भएको जनाइएको छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट