Techie IT
२०८२ श्रावण १९, सोमबार

विभिन्न स्थानमा सवारी दुर्घटनाबाट ४ जनाको मृत्यु


देशका विभिन्न भागमा आइतबार राति भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको ज्यान गएको छ भने केही घाइते भएका छन्।

रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० दोगारीस्थित सडकमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री २० वर्षीय प्रदीप जैसवालको ज्यान गएको छ। लु.प्र.०१–००७ प १०१३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका उनलाई उपचारका लागि मेडिकल कलेज, भैरहवा लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको पनि सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्युठानको नौबहिनी गाउँपालिका–४ कुलेली खवाङस्थित सडकमा ट्याक्टरबाट खसेर १५ वर्षीय धिरेन्द्र थापाको मृत्यु भएको छ। घुसकोटबाट खवाङतर्फ जाँदै गरेको लु.४ त ५१२४ नम्बरको ट्याक्टरबाट खसेर घाइते भएका उनलाई जिल्ला अस्पताल बिजुवारमा पुर्‍याइएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको हो। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बाँकेको कोहलपुर नगरपालिका–१२ चप्परगौडीस्थित सडकमा ईरिक्साको ठक्करबाट बर्दिया, बारबर्दिया नगरपालिका–९ धकेलाका ४५ वर्षीय शेरबहादुर भण्डारीको मृत्यु भएको छ। भे.१ ह ७२९४ नम्बरको ईरिक्साले ठक्कर दिँदा घाइते भएका भण्डारीको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो। ईरिक्सा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छा चोखानेस्थित सडकमा मोटरसाइकल दुर्घटनामा परी ११ वर्षीया यर्मिया राईको ज्यान गएको छ। बा.४१ प ८८१७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार यर्मियाको फेमेली केयर अस्पताल, दिक्तेलमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका चालकसहित अन्य दुई जनाको अस्पतालमा उपचार भइरहेको र एक जनालाई थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा रिफर गरिएको छ।

प्रहरीले सबै घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट