सडक दुर्घटनाः आज देशभर छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

नेपालका विभिन्न स्थानमा बिहीबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।
काठमाडौं महानगरपालिका–३१ स्थित सडकमा बा.५८ प ६०५१ नम्बरको स्कुटर दुर्घटना हुँदा चालक, भक्तपुर चाँगुनारायण नगरपालिका–३ घर भएकी २९ वर्षीया ईसा गिरीको राति सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ।
कैलालीको गोदावरी नगरपालिका–३ स्थित सडकमा दुई वटा अटो सु. प. प्र. ०१-००१ ह ३६६२ र सु. प. प्र. ०१-००१ ह ५८३४ एकआपसमा ठक्कर खाँदा अटोमा सवार कञ्चनपुर कृष्णपुर नगरपालिका–७ की ६५ वर्षीया मनसिंहा रानाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको छ। सो दुर्घटनामा घाइते अर्का एक जनाको अत्तरिया अस्पतालमा उपचार भइरहेको छ भने दुवै अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मोरङको सुन्दरहरैंचा नगरपालिका–७ बेलगाछी चोकस्थित सडकमा मे. १ ख २७९६ नम्बरको बसले प्र.१-०२-००४ ह ४२२४ नम्बरको सिटी सफारीलाई ठक्कर दिँदा सिटी सफारीमा सवार काठमाडौं कागेश्वरी नगरपालिका–९ घर भएका ६१ वर्षीय तुलसी प्रसाद गुरागाईंको बिराट नर्सिङहोम विराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घाइते सिटी सफारी चालकको पनि सोही अस्पतालमा उपचार भइरहेको छ।
सर्लाहीको बरहथवा नगरपालिका–८ टाडीस्थित सडकमा ग.१ ख ९५६८ नम्बरको बसबाट लडेर धनकौल गाउँपालिका–३ हरकठ्वा बस्ने १३ वर्षीय फैजान शेखको नेशनल मेडिकल कलेज वीरगंज पर्सामा उपचारको क्रममा मृत्यु भएको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
महोत्तरीको पिपरा गाउँपालिका–६ रतौलीस्थित प्रदेश २-०२-००४ प ०१४३ नम्बरको मोटरसाइकल दुर्घटनामा अनियन्त्रित भएर ३५ वर्षीय अरुण मोचीको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको छ।
यस्तै, सर्लाहीको बलरा नगरपालिका–११ स्थित सडकमा बीआर ३० के ४६९४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री ५५ वर्षीया चन्दा देवी बैठेको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको छ। मोटरसाइकल चालक घाइते छन् र सोही अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले सबै घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस