भारतको हिमाञ्चल प्रदेशमा गाडी दुर्घटना, सल्यानका चारजनाको मृत्यु

भारतको हिमाञ्चल प्रदेश, सिमला जिल्लाको कोटखाई नजिक सोमबार भएको गाडी दुर्घटनामा चार नेपाली नागरिकको ज्यान गएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन्।
मृतकमध्ये सल्यानको कुमाख गाउँपालिका–४ का ५० वर्षीय डिल्लीबहादुर शाही, ३६ वर्षीय एकेन्द्र शाही, २६ वर्षीया लक्ष्मी मल्ल शाही र ३३ वर्षीय राजेश विष्ट रहेका छन्। तीन जना मृतक एकै परिवारका भएको बताइएको छ।
दुर्घटनामा घाइते नवराज शाही र हिमबहादुर शाहीलाई प्राथमिक उपचारपछि कोटखाई स्वास्थ्य केन्द्रबाट डिस्चार्ज गरिएको छ।
प्रारम्भिक अनुसन्धान अनुसार चालकले सवारी नियन्त्रण गुमाउँदा पिकअप जिप भीरमा खसेको थियो । लक्ष्मी शाहीलाई गम्भीर घाइते अवस्थामा अस्पताल पुर्याइएको भए पनि उपचारकै क्रममा मृत्यु भएको थियो । त्यस्तै, डिल्लीबहादुर शाहीलाई इन्दिरा गान्धी मेडिकल कलेज पठाइएको थियो तर उपचारको क्रममा उनले पनि ज्यान गुमाए ।
भारतीय पत्रिका हिन्दुस्तान टाइम्स का अनुसार घटनापछि भारतीय दण्ड संहिताको धारा १०६ अन्तर्गत ‘लापरबाहीका कारण मृत्यु’ शीर्षकमा मुद्दा दर्ता गरिएको छ । थप अनुसन्धान भइरहेको डीएसपी सिद्धार्थ शर्माले बताएका छन् ।
दुर्घटनामा परेका सबैको शव पोस्टमार्टमका लागि पठाइएको र परिवारलाई जानकारी गराइएको प्रहरीले जनाएको छ ।
यसबीच, मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले विज्ञप्ति जारी गर्दै घटनाप्रति दु:ख व्यक्त गरेका छन् । उनले शोकसन्तप्त परिवारलाई आवश्यक सहयोग उपलब्ध गराइने र सरकार उनीहरूसँग सधैं रहने आश्वासन दिएका छन् ।
त्यस्तै, शिक्षा मन्त्री तथा कोटखाई क्षेत्रका सांसद रोहित ठाकुरले पनि शोक व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् र घाइतेहरुको स्वास्थ्यलाभको कामना गरेका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस