असोज १५ भित्र बजेट टुङ्ग्याउन सुदूरपश्चिम कांग्रेसको आग्रह
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले प्रदेशमा देखिएको बजेट शून्यताको अवस्था छिटो अन्त्य गर्न सरकारलाई आग्रह गरेको छ। मंगलबार बसेको संसदीय दलको बैठकले बजेट अभावका कारण प्रदेश सरकारका नियमित कामकारबाही, विकास निर्माण तथा सार्वजनिक सेवा प्रभावित हुन थालेको जनाउँदै तत्काल बजेटसम्बन्धी प्रक्रिया टुङ्ग्याउन सरकारको ध्यानाकर्षण गराएको हो।
संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको बैठकले प्रदेश सरकार सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था नहुँदा नियमित प्रशासनिक कामसमेत प्रभावित हुने अवस्था सिर्जना भएको उल्लेख गरेको छ। साथै, आगामी असोज १५ गतेभित्र जसरी पनि बजेट पारित गर्ने गरी प्रक्रिया अगाडि बढाउन सरकारसँग आग्रह गरिएको प्रदेशसभा सदस्य तुल्सी देवकोटाले जानकारी दिए।
चाडपर्व नजिकिँदै गएको समयमा अत्यावश्यक सेवा प्रवाहमा समेत बजेट शून्यताको असर पर्न थालेको भन्दै बैठकले नागरिकका दैनिक सरोकारका सेवाहरू प्रभावित हुन नदिन गम्भीर बन्न आग्रह गरेको छ।
साथै, बैठकले बजेट पारित गर्ने विषयमा प्रदेशसभाको प्रभावकारी भूमिका सुनिश्चित गर्दै आवश्यक सहमति र संवादमार्फत निकास खोज्न सरकारसँग माग गरेको छ। बजेट शून्यताको अवस्था थप लम्बिएमा प्रदेशको समग्र विकास, सेवा प्रवाह र प्रशासनिक गतिविधिको अवस्था थप गम्भीर बनेतर्फ सचेत गराइएको छ।
यसअघि तत्कालीन मुख्यमन्त्री शाहले प्रदेशसभामा आर्थिक वर्ष २०८३/८४ को बजेट पेस गरिसकेको अवस्थामा सरकार परिवर्तन भएपछि हालसम्म नयाँ बजेट ल्याउन सकिएको छैन।



तपाईको प्रतिक्रिया दिनुहोस