Techie IT
२०८२ असोज २८, मंगलबार

दसैँ सुरु भएपछि उपत्यकामा १७५ सवारी दुर्घटना, नौ जनाको मृत्यु


दसैँको घटस्थापनादेखि आइतबार (असोज २६) सम्म काठमाडौं उपत्यकामा १७५ सवारीसाधन दुर्घटनामा परी नौ जनाले ज्यान गुमाएका छन्।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार, सो अवधिमा भएका दुर्घटनामा १८८ जना गम्भीर घाइते भएका छन्। उनका अनुसार, अधिकांश दुर्घटना रातिको समयमा भएका हुन्।

सुवेदीले गत वर्षको तुलनामा यस वर्षको दसैँमा सवारी दुर्घटनाको संख्या घटेको बताए। उनका अनुसार, ट्राफिक प्रहरीले दसैँअघि नै सवारीसाधन जाँच, मापसे परीक्षण, चालक अनुमतिपत्रको निरीक्षण र गति नियन्त्रणमा कडाइ गरेकाले दुर्घटना दर घटेको हो।

‘हामीले दसैँ सुरु हुनुअघि नै सडक सुरक्षालाई प्राथमिकता दिएका थियौँ,’ उनले भने, ‘मापसे जाँच र गति नियन्त्रणमा सक्रियता बढाएकाले दुर्घटना केही हदसम्म घटेको छ।’

ट्राफिक प्रहरीले चालकहरूलाई विशेषगरी रातिको समयमा सवारी चलाउँदा सावधानी अपनाउन, मादक पदार्थ सेवन नगर्न र ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ।

रातिको समयमा सडक सुनसान हुने, नशाको असरमा तीव्र गतिमा सवारी चलाउने र लापरवाही गर्ने प्रवृत्तिका कारण दुर्घटनाको जोखिम बढ्ने गरेको सुवेदीले बताए।

चाडपर्वका बेला रमाइलो र हतारोका कारण दुर्घटनाको सम्भावना बढ्ने भएकाले ट्राफिक प्रहरीले यात्रु र चालक दुवैलाई सतर्क रहन आग्रह गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट