मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–१६ डण्डा बजारमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोही दुर्घटनामा परेर दुई जना गम्भीर घाइते भएका छन्।
गए राति करिब १० बजे डण्डाबाट कावासोतीतर्फ जाँदै गरेको ना ४३ प ३४३६ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा तीनै जना गम्भीर घाइते भएका थिए। तीमध्ये मोटरसाइकल चालक कावासोती नगरपालिका–१६ गैडाचोकका ४२ वर्षीय हीराबहादुर परियारको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए।
मोटरसाइकल पछाडि सवार कावासोती नगरपालिका–३ की ३२ वर्षीया सुनिता जोहार्जा र कावासोती नगरपालिका–१४ की २४ वर्षीया मीना मगरको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको प्रहरीले जनाएको छ।
मोटरसाइकललाई ठक्कर दिने सवारीसाधनको पहिचान तथा खोजीकार्य जारी रहेको नायब उपरीक्षक नेपालले बताए।



तपाईको प्रतिक्रिया दिनुहोस