देशभर सडक दुर्घटना बाट तीनको मृत्यु
देशका विभिन्न जिल्लामा बिहीबार भएका छुट्टाछुट्टै सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।
महोत्तरीको भंगहा नगरपालिका–६ मौवाचोकस्थित सडकमा ‘अनटेष्ट’ लेखिएको सिटी सफारी अनियन्त्रित भई दुर्घटना हुँदा सवार सोही नगरपालिका–८ धर्मपुरकी ५५ वर्षीया बेचनी सरदारको मृत्यु भएको छ। गम्भीर घाइते भएकी सरदारको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ।
त्यस्तै, ताप्लेजुङको सिरिजंघा गाउँपालिका–४ तेल्लोकस्थित सडकमा मे.१ त ७७६९ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा सहचालक फुङलिङ नगरपालिका–२ का २६ वर्षीय राजु रसाईलीको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनापछि फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।
यसैगरी, तनहुँको बन्दिपुर गाउँपालिका–४ बिमलनगरस्थित सडकमा दमौलीबाट आँबुखैरेनीतर्फ जाँदै गरेको प्र.३–०१–००३ क ४८९८ नम्बरको ट्रकले ठक्कर दिँदा पैदलयात्री गोरखा पालुङटार नगरपालिका–६ का ६१ वर्षीय खुद बहादुर थापाको ज्यान गएको छ। गम्भीर घाइते भएका थापाको प्रदेश अस्पताल दमौलीमा उपचारका क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस