फास्ट ट्र्याकको गाडी खोलामा खस्यो: इन्जिनियर र पूर्वसैनिक चालकको मृत्यु
मकवानपुरमा तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) को निर्माण कार्यमा प्रयोग भइरहेको पिकअप गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। भिमफेदी गाउँपालिका-८ बैदमारस्थित भित्री सडक खण्डमा गएराति भएको दुर्घटनामा परी गाडीका चालक र एक इन्जिनियरको ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गएराति करिब १०:५० बजे माण्डु हाइड्रोपावरबाट इपातर्फ जाँदै गरेको बा.प्र ०१-०३३ च २१४४ नम्बरको पिकअप गाडी अनियन्त्रित भई सडकबाट झन्डै एक सय मिटर तल खोलामा खसेको थियो।
दुर्घटनामा मृत्यु हुनेहरूमा चालक सिन्धुलीको कमलामाई नगरपालिका-९ भिमानका अन्दाजी ४०-४२ वर्षीय बोधराज बुढाथोकी र फास्ट ट्र्याकमै कार्यरत इन्जिनियर बाराको पचरौता नगरपालिका-७ का अन्दाजी २१ वर्षीय सूर्य यादव रहेका छन्। मृतक चालक बुढाथोकी नेपाली सेनाका भूतपूर्व सैनिक हुन्।
भीर र अप्ठ्यारो भूगोलका कारण उद्धार कार्यमा कठिनाइ भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी गम्भीर घाइते भएका दुवै जनालाई राति उद्धार गरी आज बिहान ५ बजे मात्रै हेटौँडा अस्पताल पुर्याउन सकिएको थियो। तर, अस्पताल पुर्याउनासाथ चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए।
मृतक दुवैको शव हाल परीक्षण (पोस्टमार्टम) का लागि हेटौँडा अस्पतालमै राखिएको छ भने घटनाबारे मृतकका परिवारलाई जानकारी गराइसकिएको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस