कावासोती जङ्गलमा अज्ञात गाडीको ठक्करबाट २३ वर्षीय युवकको मृत्यु
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–८ स्थित खरकट्टा जङ्गल खण्डको पूर्व–पश्चिम राजमार्गमा अज्ञात सवारीसाधनको ठक्करबाट एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा हुप्सेकोट गाउँपालिका–५ निवासी २३ वर्षीय तिलबहादुर राना मगर रहेका छन्।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार गएराति नम्बर नखुलेको सवारीसाधनले पैदलयात्री राना मगरलाई ठक्कर दिएको थियो। दुर्घटनालगत्तै गम्भीर घाइते भएका उनलाई ट्राफिक प्रहरीको टोलीले उद्धार गरी तत्काल मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डा पुर्याएको थियो । टाउको र निधारमा गम्भीर चोट लागेका कारण उनलाई थप उपचारका लागि चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज (सीएमसी) रिफर गरिएको थियो।
अस्पतालमा उपचारकै क्रममा आज बिहान चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) युवराज खड्काले जानकारी दिए।
घटनापछि ठक्कर दिने सवारीसाधनसहित चालक फरार रहेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस