Techie IT
२०८३ असार ३२, बिहीबार

सडक दुर्घटनाको कहर: रूपन्देही, प्युठान र सप्तरीमा तीन जनाको अकालमै मृत्यु


देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी तीन जनाको दुःखद मृत्यु भएको छ। 

रूपन्देहीको ओमसतिया गाउँपालिका-२ सरस्वती टोलस्थित सडकमा भैरहवाबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ८९९० नम्बरको माइक्रो बस अनियन्त्रित भई दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका-३ का ३० वर्षीय सन्दीप बराल रहेका छन्। दुर्घटनामा परेर गम्भीर घाइते भएका बरालको भीम अस्पताल भैरहवामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। सोही दुर्घटनामा घाइते भएका अन्य दुई जनाको सिटी अस्पताल भैरहवा र क्रिमसन अस्पताल मणिग्राममा उपचार भइरहेको छ भने माइक्रो बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यस्तै, प्युठानको नौबहिनी गाउँपालिका-५ डामृमा रोकी राखेको भे २ त २०१९ नम्बरको ट्याक्टरमा खेल्ने क्रममा ट्याक्टर पछि सरेर (ब्याक भई) दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ। मृत्यु हुनेमा स्थानीय ७ वर्षीय कुण्डन घर्ती मगर रहेका छन्। ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बिजुवार प्युठानमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका अर्का एक जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ भने प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।

यसैगरी, सप्तरीको शम्भुनाथ नगरपालिका-६ कठौना बजारमा भारतीय नम्बर प्लेटको बीआर ३२ बीडि ९७६४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा एक किशोरको मृत्यु भएको छ। तीव्र गतिको मोटरसाइकलले साइकलयात्री १४ वर्षीय मोहम्मद सादिकलाई ठक्कर दिएको थियो। दुर्घटनामा परेर गम्भीर घाइते भएका सादिकको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारका क्रममा मृत्यु भएको छ। प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ भने यी तीनवटै दुर्घटनाका सम्बन्धमा थप कानुनी अनुसन्धान अगाडि बढाइएको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट