आज देशभर भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु
देशका विभिन्न स्थानमा बिहीबार र शुक्रबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ। झापा, नवलपरासी (पश्चिम), कास्की र महोत्तरीमा भएका दुर्घटनामा उनीहरूको ज्यान गएको हो।
झापा: बाह्रदशी गाउँपालिका-३ मा मोटरसाइकलको ठक्करबाट साइकलयात्री ५० वर्षीय प्रेम बहादुर पौडेलको मृत्यु भएको छ। घोडामाराबाट राजगढतर्फ आउँदै गरेको प्र.१-०१-०१९ प २६९४ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो। घाइते पौडेलको विर्तासिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ।
नवलपरासी (पश्चिम): सरावल गाउँपालिका-३ मा रोकिराखेको लु.२ ख ३७९ नम्बरको ट्रकमा लु.४५ प १४३० नम्बरको मोटरसाइकल ठोक्किँदा २२ वर्षीय टेकेन्द्र चौधरीको मृत्यु भएको छ। जिल्ला अस्पताल परासीमा उपचारका क्रममा उनको मृत्यु भएको हो। ट्रक चालक प्रहरी नियन्त्रणमा छन्।
कास्की: पोखरा महानगरपालिका-१४ मा ट्याक्सीमा स्कुटर ठोक्किँदा १७ वर्षीय संयोग भण्डारीको मृत्यु भएको छ। ग.१ ज ९९३ नम्बरको ट्याक्सीमा ग.१५ प ५०५ नम्बरको स्कुटर ठक्कर खाएको थियो। उपचारका क्रममा जिएमसी अस्पतालमा उनको मृत्यु भएको हो। प्रहरीले ट्याक्सी र स्कुटर चालक दुवैलाई नियन्त्रणमा लिएको छ।
महोत्तरी: बलवा नगरपालिका-९ मा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालक २६ वर्षीय सफिकुल नदाफको मृत्यु भएको छ। प्रादेशिक अस्पताल जलेश्वरमा उपचारका क्रममा उनको मृत्यु भएको हो।
सम्बन्धित सबै घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस