आज देशभर भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै चारवटा सवारी दुर्घटनामा परी ६ जनाको ज्यान गएको छ। मोरङ, रामेछाप, चितवन र सल्यानमा भएका दुर्घटनामा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।
विराटनगर महानगरपालिका-३ स्थित कञ्चनबारीबाट भट्टाचोकतर्फ आउँदै गरेको को ५ प २१७० नम्बरको मोटरसाइकल गए राति दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका महानगरपालिका-९ बसपार्क नजिक बस्ने ४५ वर्षीय रबि कामतको कोशी अस्पताल, विराटनगरमा उपचारका क्रममा ज्यान गएको हो।
रामेछापको मन्थली नगरपालिका-१ विटार पार्क नजिक रामेछाप डाँडाबाट मन्थलीतर्फ आउँदै गरेको बाप्र ०१-०२६ च ४९१३ नम्बरको गाडी शुक्रबार राति सडकबाट करिब २ सय मिटर तल खसेर दुर्घटना भएको छ। दुर्घटनामा गाडीमा सवार दोलखाको भीमेश्वर नगरपालिका-३ बस्ने २८ वर्षीय सन्जित तामाङको मन्थली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका चालकलाई थप उपचारका लागि धुलिखेल अस्पताल, काभ्रे पठाइएको छ।
चितवनको भरतपुर महानगरपालिका-८ स्थित सदगुण दाना फ्याक्ट्रीको गेटमा ना ५ ख ८४६५ नम्बरको ट्रकले ठक्कर दिँदा त्यहाँ कार्यरत कामदारको मृत्यु भएको छ। फ्याक्ट्रीमा काम गर्ने भरतपुर महानगरपालिका-५ बस्ने ३४ वर्षीय चन्द्रबहादुर ठाडा मगरको शनिबार बिहान भएको उक्त दुर्घटनामा नयाँ मेडिकल कलेज, भरतपुरमा उपचारका क्रममा ज्यान गएको हो। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सल्यानको त्रिवेणी गाउँपालिका-५ सिंखस्थित सडकमा सिंखबाट दाङतर्फ जाँदै गरेको लुप्र ०२-००१ ज ०००५ नम्बरको बोलेरो शनिबार बिहान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा परेर त्रिवेणी गाउँपालिका-६ पोखरीका ८ वर्षीय रेशम बुढाथोकी, सोही ठाउँकी १८ वर्षीया बिपना बुढाथोकी र ५० वर्षीय डिल्लीबहादुर वलीको मृत्यु भएको हो।
रेशम र बिपनाको जिल्ला अस्पताल सल्यानमा तथा डिल्लीबहादुरको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, दाङमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका बोलेरो चालकसहित अन्य ३ जनाको सञ्जीवनी अस्पताल, गोग्ली, घोराही, दाङमा उपचार भइरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस