Techie IT
२०८३ मंसिर २, मंगलबार

चार दिनमा देशभर भएका सवारी दुर्घटनामा २९ जनाको मृत्यु


काठमाडौँ । मुलुकका विभिन्न स्थानमा पछिल्लो चार दिनको अवधिमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २९ जनाको ज्यान गएको छ । कात्तिक २७ गतेदेखि ३० गतेसम्म देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा उनीहरूको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

प्रहरी विवरणअनुसार कात्तिक २७ गते चितवन, धनुषा, सिराहा, तनहुँ, नवलपरासी पूर्व, बारा र कैलालीमा भएका दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । उक्त दिन चितवनको भरतपुरमा ईभी कारको ठक्करबाट पैदलयात्री ३० वर्षीया पार्बती भुजेल, धनुषामा टिपरको ठक्करबाट स्कुटर चालक २० वर्षीय नबिन चौधरी, सिराहामा मोटरसाइकलको ठक्करबाट पैदलयात्री ५५ वर्षीय श्रीराम यादव र तनहुँको आँबुखैरेनीमा स्कुटर दुर्घटना हुँदा २४ वर्षीय अमन भुजेलको ज्यान गएको हो । 

त्यस्तै, सोही दिन नवलपरासी पूर्वमा मोटरसाइकलको ठक्करबाट ४८ वर्षीय कमल गाहा, बारामा दुई मोटरसाइकल ठोक्किँदा ३० वर्षीया शिवपुजनी देवी र कैलालीको धनगढीमा मोटरसाइकल र स्कुटर जुध्दा ३५ वर्षीया सुशिला बमको मृत्यु भएको छ ।

यसैगरी, कात्तिक २८ गते भक्तपुर, नुवाकोट, कास्की र उदयपुरमा भएका सवारी दुर्घटनामा ५ जनाले ज्यान गुमाएका छन् । भक्तपुरको सूर्यविनायकमा बसको ठक्करबाट मोटरसाइकलमा सवार १४ वर्षीया भूमिका राई, नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा चालक ५५ वर्षीय नारायण कार्की, कास्कीको पोखरामा रोकिराखेको बोलेरोमा स्कुटर ठोक्किँदा म्याग्दीका २१ वर्षीय बिबेक दर्जी र २६ वर्षीय महन परियार तथा उदयपुरमा मोटरसाइकल र ट्याक्टर ठोक्किँदा अन्दाजी २९ वर्षीय एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कात्तिक २९ गते बर्दिया, तनहुँ, झापा, सप्तरी र रौतहटमा भएका दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । बर्दियाको गुलरियामा मिनी फोर्स गाडी र मोटरसाइकल ठोक्किँदा बाँकेका ३४ वर्षीय हुकुम बहादुर खत्री र ५५ वर्षीय दल बहादुर खत्रीको ज्यान गएको छ । सोही दिन तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा ३२ वर्षीय शम्भु विक, झापामा कार र मोटरसाइकल जुध्दा २१ वर्षीय साहित गजमेर, सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा ५० वर्षीय मो. नजरुल मिया तथा रौतहटमा मोटरसाइकलको ठक्करबाट साइकलयात्री ७० वर्षीय चतुरी राय यादवको मृत्यु भएको छ ।

चार दिनको अवधिमा सबैभन्दा बढी मानवीय क्षति कात्तिक ३० गते भएको छ । उक्त दिन धनुषा, सिराहा, सप्तरी, मुगु र बझाङमा भएका दुर्घटनामा ११ जनाको मृत्यु भएको हो । बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा अटो सडकबाट करिब ९ सय मिटर तल खस्दा एकै स्थानका ३५ वर्षीया राजमती महरा, १५ वर्षीया तारा महरा, ५ वर्षीया डल्ली महरा र ४ वर्षीय रियास महरा गरी चार जनाको घटनास्थलमै ज्यान गएको छ ।

त्यस्तै, मुगुको छायाँनाथ रारा नगरपालिका–७ टोप्लामा जिप सडकबाट करिब ६ सय मिटर तल खस्दा काठमाडौँ कलङ्कीका ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्ण कुमार थापा गरी तीन जनाको मृत्यु भएको छ । सोही दिन सिराहामा भएका दुई छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा २३ वर्षीय सुमित कुमार यादव र २५ वर्षीय प्रेम कुमार महतो, धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्री २६ वर्षीय प्रशान्त कुमार यादव तथा सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा चालक २० वर्षीय राजिव पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त अवधिमा भएका विभिन्न दुर्घटनामा परी दर्जनौँ यात्रु तथा पैदलयात्री घाइते भएका छन् र उनीहरूको देशका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ । अधिकांश दुर्घटनामा संलग्न सवारी चालकहरूलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट