झापामा सवारी दुर्घटनामा दुईको मृत्यु, दुई घाइते

झापा बाह्रदशी गाउँपालिका–१ खयरबारीस्थित सवारी दुर्घटनामा परी आज दिउँसो दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मृत्यु हुनेमा कचनकवल गाउँपालिका–३ का ६० वर्षीय श्रीप्रसाद राजवंशी र नाम थर खुल्न नसकेको अर्का एक व्यक्ति रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खड्गबहादुर खड्काका अनुसार खयरबारीस्थित भित्री सडकखण्डमा राजगढबाट कुटीतर्फ जाँदै गरेको बीआर ३७ एजेड ६४४० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–०१६ प ९२७० नम्बरको स्कुटर एकापसमा जुध्दा दुवै चालक गम्भीर घाइते भएका थिए ।
उनीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको थियो । उपचारकै क्रममा उनीहरू दुवैको मृत्यु भएको प्रवक्ता खड्काले जानकारी दिए । मृतकहरूको शव सोही अस्पतालमा रहेको छ । मोटरसाइकल चालकको अझै पहिचान खुल्न नसकेको प्रहरीको भनाइ छ ।
यसैगरी स्कुटीको पछाडि सवार राजवंशीको २७ वर्षीया बुहारी उर्मिला राजवंशी र उनकै तीन वर्षीय छोरा आयुष राजवंशी गम्भीर घाइते छन् । उनीहरूको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस