Techie IT
२०८२ भाद्र ३१, मंगलबार

भोजपुरे खुकुरी उत्पादन संकटमा, नयाँ पुस्ताको चासो घट्दै


भोजपुर । परम्परागत खुकुरी बनाउने कालीगढ पेसाप्रति नयाँ पुस्ताको चासो घट्दै गएपछि भोजपुरे खुकुरी उत्पादन संकटमा परेको छ । दक्ष कालीगढको अभावका कारण बजारको मागअनुसार उत्पादन हुन नसकेको व्यवसायीहरूको भनाइ छ।

पुस्तान्तरण नहुनु र संरक्षणको अभावले कालीगढ पेसा क्रमशः संकटतर्फ धकेलिँदै गएको छ। भोजपुरे खुकुरीको माग स्थानीय बजारदेखि बाहिरी जिल्ला र अन्तर्राष्ट्रिय बजारसम्म हुने भए पनि उत्पादन धान्न सकस परेको व्यवसायीहरूको अनुभव छ।

स्थानीय कालीगढ हर्कबहादुर विश्वकर्माका अनुसार पछिल्लो समय भोजपुरे खुकुरीको माग देश–विदेश दुवैतर्फ बढ्दो छ। तर गाउँघरमा दक्ष जनशक्ति नहुँदा उत्पादनमा कमी आएको छ। “माग धान्न मुस्किल पर्छ, यो पेसामा पुस्तान्तरण नहुँदा संकट देखिएको छ,” उनले भने।

मुख्यतया भोजपुरे, सिरुपाते, चित्लाङ्गे र कोथीमोडालगायत खुकुरीको बढी माग हुने गरेको छ। बजारमा यी खुकुरी आकारअनुसार न्यूनतम एक हजारदेखि अधिकतम २० हजार रुपैयाँसम्ममा बिक्री हुने व्यवसायी दिनेश गजमेरले बताए। उनका अनुसार बाहिरी जिल्लाबाट सयौँ संख्यामा माग आउँछ, तर ठूलो संख्यामा माग हुँदा धान्न समस्या पर्छ।

विगतमा धेरै कालीगढले यो पेसा जीविकोपार्जनका रूपमा रोजे पनि पछिल्लो समय व्यावसायिक रूपमा संलग्न हुनेको संख्या घट्दै गएको छ। बढी मेहनत, कच्चा पदार्थको अभाव र नयाँ पुस्तामा मोह कम हुनु यस पेसा संकटमा पर्ने मुख्य कारण भएको गजमेरले बताए।

यससँगै गाउँघरमा सञ्चालित आरन उद्योग बन्द हुँदै जाँदा खुकुरी मात्र नभई खेतीपातीका लागि आवश्यक कृषि औजार बनाउन आवश्यक जनशक्ति पनि कमी हुँदै गएको स्थानीयवासीले बताएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट