जापानको रोजगारी त्यागेर गाउँमै कृषि क्रान्ति गर्दै जनप्रतिनिधि घर्ती
बागलुङ । वैदेशिक रोजगारीका लागि जापान पुगेका बागलुङको निसीखोला गाउँपालिका–४ थापागाउँका लीलाबहादुर घर्ती एक वर्षमै स्वदेश फर्किएर व्यावसायिक कृषि उद्यममा जमेका छन् । विदेशमा मनग्य आम्दानी गर्ने सपना बोकेर जापान उडेका उनलाई आफ्नै गाउँको माटो र कृषि कर्मप्रतिको मोहले लामो समय परदेशमा टिक्न दिएन ।
जापानको आकर्षक रोजगारी छाडेर फर्किएका घर्ती अहिले निसीखोला–४ स्थित विस्मारेमा ‘अमृत फलफूल तथा तरकारी पशुपन्छीपालन कृषि फार्म प्रालि’ दर्ता गरी व्यवसाय विस्तारमा जुटेका छन् ।
घर्तीको कृषि यात्रा २०७१ सालबाटै सुरु भएको हो । भारतको हिमाचल प्रदेशमा रहँदा स्याउ र किवीखेतीको सीप सिकेका उनले स्वदेश फर्किएपछि करिब १० रोपनी जग्गामा व्यावसायिक किवीखेती थालेका थिए । बीचमा केही समयका लागि जापान गए पनि आफ्नै देशमा सुरु गरेको व्यवसायको मायाले उनलाई पुनः गाउँमै फर्कायो ।
हाल उनले किवीसँगै टिमुरखेतीलाई पनि विस्तार गरेका छन् । किवी बिक्रीबाट मात्रै वार्षिक करिब तीन लाख रुपैयाँ आम्दानी गर्दै आएका घर्तीले कृषि व्यवसायलाई विविधिकरण गर्दै पशुपालनमा समेत हात हालेका छन् । हाल गाईपालनबाट दूध बिक्री गरिरहेका उनले व्यावसायिक बङ्गुरपालनका लागि आवश्यक भौतिक संरचनासमेत तयार पारिसकेका छन् ।
कृषि र पशुपालनलाई एकीकृत रूपमा अघि बढाउँदा उत्पादन लागत घट्ने र मुनाफा बढ्ने उनको अनुभव छ । घर्ती भन्छन्, "पशुपालनबाट निस्कने प्राङ्गारिक मल खेतीपातीमै प्रयोग गर्न सकिन्छ । "त्यसैले दुवै व्यवसायलाई सँगसँगै अघि बढाउने योजना बनाएको हुँ ।"
कृषि उद्यमसँगै घर्ती स्थानीय राजनीति र समाजसेवामा पनि उत्तिकै सक्रिय छन् । निसीखोला गाउँपालिका–४ का निर्वाचित वडा सदस्यसमेत रहेका उनी जनप्रतिनिधिले भाषणमा मात्र नभई व्यवहारमै उत्पादन र उद्यमशीलतामा जोडिनुपर्ने उदाहरण बनेका छन् ।
एकातिर रोजगारीका लागि विदेशिने युवाको लर्को बढिरहेको छ भने अर्कोतिर घर्तीजस्ता उद्यमीले आफ्नै गाउँको माटोमा भविष्य खोज्दै आत्मनिर्भरताको बलियो सन्देश दिइरहेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस