दशौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, आयोजक कर्णाली अझै पदकविहीन
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पाँचौँ दिनसम्मको पदक तालिकामा बागमती प्रदेशले शीर्ष स्थानमा आफ्नो पकड जमाएको छ । बागमती प्रदेशले १९ स्वर्ण, १२ रजत र १४ कांस्य गरी कुल ४५ पदक जितेर पहिलो स्थान ओगटेको हो । १२ स्वर्ण, ४ रजत र ४ कांस्यसहित कुल २० पदक जितेको गैरआवासीय नेपाली संघ (एनआरएनए) दोस्रो स्थानमा रहेको छ भने कुल पदक संख्यामा अगाडि रहे पनि स्वर्ण पदकका आधारमा नेपाली सेना ११ स्वर्ण, २० रजत र १९ कांस्य गरी कुल ५० पदकसहित तेस्रो स्थानमा छ ।
तालिकाको चौथो स्थानमा रहेको नेपाल प्रहरीले ८ स्वर्ण, १५ रजत र १८ कांस्य गरी कुल ४१ पदक जितेको छ । यस्तै, गण्डकी प्रदेश ४ स्वर्ण, १ रजत र ४ कांस्य गरी ९ पदकसहित पाँचौँ र कोशी प्रदेश ४ स्वर्ण, १ रजत र १ कांस्य गरी ६ पदकसहित छैटौँ स्थानमा रहेका छन् । सशस्त्र प्रहरी बल (एपीएफ) ले ३ स्वर्ण, १ रजत र १ कांस्य गरी ५ पदक हात पारेको छ ।
यसैगरी, लुम्बिनी प्रदेशले २ स्वर्ण, ६ रजत र ३ कांस्य गरी कुल ११ पदक जित्दा सुदूरपश्चिम प्रदेशले २ स्वर्ण, ५ रजत र २ कांस्य गरी ९ पदक जितेको छ । मधेश प्रदेशले भने २ कांस्य पदक जितेको छ ।
घरेलु मैदानमा प्रतियोगिता आयोजना गरिरहेको कर्णाली प्रदेशले भने पाँचौँ दिन बित्दासमेत पदकको खाता खोल्न सकेको छैन । स्वर्ण, रजत र कांस्य तीनै पदकमा शून्य रहेको कर्णाली पदक तालिकाको पुछारमा रहेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस