‘पूर्णबहादुरको सारङ्गी’ ले बनायो नयाँ रेकर्ड, एकैदिन ३८० भन्दाबढी ‘शो’
                                                        नेपाली चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले प्रदर्शनको पहिलो हप्तामै नेपालभरका ३८० भन्दा बढी शो पाउँदै नयाँ रेकर्ड कायम गरेको छ। चलचित्र निर्माण कम्पनी सेभेन सिसका अनुसार यो संख्या एकैदिन सबैभन्दा धेरै शो पाउने पहिलो नेपाली चलचित्रको रूपमा इतिहासमा दर्ज भएको हो।
चलचित्रमा मुख्य भूमिकामा रहेका कलाकार विजय बरालले काठमाडौं उपत्यकामा १८० शो र उपत्यका बाहिर २०० शो गरी कुल ८९ हलमा फिल्म देखाइरहेको जानकारी दिए । प्रारम्भिक विवरण अनुसार, एक हप्तामै बक्स अफिसमा आठ करोड २५ लाख रूपैयाँ कमाइ गर्दै ‘पूर्णबहादुरको सारङ्गी’ ले उत्कृष्ट प्रदर्शन गरिरहेको छ।
सरोज पौडेलको लेखन र निर्देशनमा बनेको यो चलचित्रमा विजय बरालसँगै प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ लगायत कलाकारहरूको सशक्त अभिनय छ।
चलचित्र गन्धर्व समुदायको कथामा आधारित छ, जसमा एक पिताले छोराको सफलताको लागि गरेको संघर्षलाई मर्मस्पर्शी रूपमा प्रस्तुत गरिएको छ।
सेभेन सिस सिनेमा र बासुरी फिल्मस्को संयुक्त प्रस्तुति रहेको यस चलचित्रको निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् भने कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल रहेका छन्।



    
तपाईको प्रतिक्रिया दिनुहोस