पुस्तक समिक्षा
अन्तर्बोधमा ‘म’ को खोजी
श्रीकृष्ण श्रेष्ठ र शर्मिला बगालेद्वारा लिखित ‘अन्तर्बोध: जीवन चेतना र अनुभूति’ (ओरियन्टल पब्लिकेशन, काठमाडौं) जीवन, जगत् र आन्तरिक चेतनाको गहिरो दार्शनिक तथा व्यावहारिक सङ्गालो हो। जनप्रशासनका क्षेत्रमा परिचित व्यक्तित्वहरूबाट आएको यो कृतिले प्रशासनिक दायराभन्दा माथि उठेर जीवनपरक दर्शनमाथि गहिरो प्रकाश पारेको छ। प्रस्तुत पुस्तकको पृष्ठ १४४ देखि १५२ सम्मको अध्ययन र यसभित्र अन्तर्निहित ‘म’ (स्वपहिचान) को दार्शनिक पक्षलाई आजको व्यावहारिक जीवनसँग जोडेर गरिएको विचार मन्थन यस आलेखको मुख्य अभीष्ट हो।
पुस्तकले स्वपहिचानलाई ‘स्व’ को स्वभावका विभिन्न आयाम, धार तथा तत्त्वहरूको समुच्चय र एकात्मकताका रूपमा परिभाषित गरेको छ। आत्मजागरुकता, आत्मसम्मान, आत्मसंकल्प र स्व-अवधारणा पुस्तकका प्रमुख खम्भा हुन्।
साहित्यमा कविकुलचरोमणि लेखनाथ पौड्यालको ‘म कस्तो हुँ’ कविता होस् वा कर्ण शाक्यको प्रेरणादायी कृति ‘म सक्छु’, सबैले कतै न कतै व्यक्तिगत अस्तित्व र क्षमताको खोजी गरेका छन्। तर प्रस्तुत पुस्तक ‘म’ र ‘मेरो’ मा मात्र सीमित नभई ‘जगतकै अस्तित्वसँगै म’ को सिलसिलेवर र गहिरो व्याख्यामा केन्द्रित छ। हाडमासु र श्वासको थुप्रो मात्रले वास्तविक अस्तित्वचेत दिन सक्दैन भन्ने सत्यलाई यसले जीवनपरक ढङ्गले प्रस्तुत गरेको छ।
‘म’ को बहुआयामिक स्वरूप र द्वन्द्व
मानिसले आफूलाई हेर्ने दृष्टि र अरुले गर्ने मूल्याङ्कनबीच ठूलो खाडल हुन सक्छ। आफूले आफैलाई देवत्वकरण गरिरहँदा बाहिरी समाजले दानवीकरण गरिरहेको पनि हुनसक्छ। पहिचानको यो अनन्त यात्रामा जन्मचक्रदेखि जीवन भोगाइका प्रत्येक निमेषसम्म अनुभव, लगाव र भाग्यले ठूलो भूमिका खेल्छन्।
तथ्यगत रूपमा, आँखा बन्द गर्दा व्यक्तिले आफूभित्र देख्ने क्यानभास र त्यसमा कोरिएका चित्र नै ‘आत्मजागरुकता’ हो। आफ्नो नजरमा आफू र अरुको नजरमा आफू कस्तो छ भन्ने बोध गर्नु नै स्वपहिचानको वास्तविक सार हो।
जीवन आफैंमा एक पाठशाला हो, जहाँ सुखको खोजीमा दुःखका अनेकौँ पहाड भेटिन्छन्। तर, यदि व्यक्तिले सही अर्थमा स्वपहिचान गर्न सक्यो भने दुःखभित्रै पनि अवसरका मार्गहरू फेला पार्न सकिन्छ। प्रसिद्ध गीतकार हरिभक्त कटवालको “यो जिन्दगि खै के जिन्दगि” भन्ने भावनालाई आत्मसात् गर्दै, जीवनका परिस्थितिहरूलाई दुई धारको तरवारसँग दाँजेर व्यावहारिक रूपमा अघि बढ्नुपर्ने यथार्थ यो पुस्तकले सिकाउँछ।
समग्रमा, ‘अन्तर्बोध’ केवल पढेर सकिने पुस्तक मात्र होइन, यो त आफ्नै भित्री तहमा पसेर ‘म’ को गोडमेल गर्ने एउटा उच्चकोटीको दार्शनिक मार्गदर्शक हो। जीवन र जगतलाई गहिराइबाट बुझ्न चाहने प्रत्येक पाठकका लागि यो कृति सङ्ग्रहणीय र मननीय छ।




तपाईको प्रतिक्रिया दिनुहोस