Techie IT
२०८२ फागुन २६, मंगलबार

स्थानीय वायुको प्रभावले कर्णाली देखि कोशी प्रदेशसम्म वर्षा


मौसमविद्हरूका अनुसार वर्षा आज रातिदेखि क्रमशः घट्दै जानेछ। तर भोलि र पर्सिसम्म पुनः पानी पर्ने सम्भावना कायमै छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्हरूले अहिले पानी पार्ने उल्लेखनीय प्रणाली नभई केवल स्थानीय वायु सक्रिय भएकै कारण वर्षा भइरहेको बताएका छन्। मौसमविद् हरिप्रसाद दाहालका अनुसार, “आज दिउँसोदेखि परिरहेको वर्षा स्थानीय वायु सक्रिय भएकै कारण हो। यो वर्षा आज रातिदेखि कम हुँदै जाने देखिन्छ।”

बुधबार साँझ ७ बजेसम्म गण्डकी र बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको थियो। लुम्बिनी, कोशी र मधेश प्रदेशका थोरै स्थानमा हल्का पानी परिरहेको छ। राति धेरै स्थानमा वर्षा रोकिने अनुमान छ तर भोलि अपराह्न फेरि धेरै ठाउँमा वर्षा हुने सम्भावना छ।

दाहालका अनुसार, भोलि बिहीबार पनि एक–दुई स्थानमा खण्डित रूपमा भारी वर्षा हुन सक्छ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा लुम्बिनी र कर्णाली प्रदेशका थोरै क्षेत्रमा मध्यम खालको वर्षा हुने सम्भावना छ।

यस हप्ताभरि वर्षाको सम्भावना कायम रहने देखिन्छ। दशैंको टीकाको दिनसम्म मनसुन नेपालबाट बाहिरिने संभावना नरहेकाले वर्षा हुनु स्वाभाविक भएको मौसमविद्हरू बताउँछन्। तर विगतका वर्षझैं ठूलो र भीषण वर्षा भने नहुने आकलन गरिएको छ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागका सह–प्राध्यापक तथा मौसमविद् डा. विनोद पोखरेलका अनुसार, यस वर्ष हिले दशैं हुने सम्भावना धेरै छ। उनका अनुसार केही दिन मनसुन अत्यधिक सक्रिय नदेखिए पनि बेलुकीतिर पानी पर्ने सम्भावना रहन्छ। दशैंको मध्यतिर वर्षा गराउने प्रणाली फेरि सक्रिय हुने देखिएकाले हिले दशैं हुने अनुमान गरिएको हो।

सेप्टेम्बर २५ (असोज ९) देखि बंगालको खाडीमा नयाँ मौसमी प्रणाली विकसित हुँदैछ। यसको बढी असर बंगलादेश, म्यानमार तथा भारतका सिक्किम, आसाम र मेघालय क्षेत्रमा पर्नेछ। नेपालमा यसको आंशिक असर पर्ने र पूर्वी भूभागमा वर्षा गराउने सम्भावना रहेको बताइएको छ।

मौसमविद् दाहालका अनुसार, बंगालको खाडीमा विकसित भइरहेको प्रणालीलाई नजिकबाट नियालिँदै छ। “यसको असर नेपालमा कस्तो पर्छ भन्नेबारे हामी निरन्तर अध्ययन गरिरहेका छौं,” उनले भने।

उनका अनुसार दशैंका दिनलाई लक्षित गर्दै विशेष मौसमी बुलेटिन जारी गरिनेछ। “एउटा-दुई दिनभित्र हामी दशैं विशेष बुलेटिन सार्वजनिक गर्नेछौं,” उनले भने ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट