इजरायलमा बहुमत गुमाएपछि नेतन्याहुले भने - "अरब पार्टीहरूले मत चोरे"
इजरायलमा सम्पन्न आम निर्वाचनको ९७ प्रतिशत मतगणना सकिँदा प्रधानमन्त्री बेन्जामिन नेतन्याहु नेतृत्वको लिकुड पार्टीको गठबन्धनले स्पष्ट बहुमत हासिल गर्न सकेको छैन। बहुमत गुमाउने निश्चित भएपछि प्रधानमन्त्री नेतन्याहुले विपक्षी र अरब पार्टीहरूमाथि चुनावमा व्यापक धाँधली गरेको गम्भीर आरोप लगाएका छन्।
सामाजिक सञ्जाल ‘एक्स’ मार्फत वक्तव्य जारी गर्दै नेतन्याहुले आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्य समाप्त पार्न चाहने समूहहरूले गम्भीर आपराधिक गतिविधिमार्फत निर्वाचनको नतिजा ‘चोरेको’ दाबी गरे। उनले निर्वाचनका क्रममा घुसखोरी, धम्की, हिंसा, जालसाजीका साथै मतदाता परिचालन गर्न प्रतिबन्धित सफ्टवेयरको समेत प्रयोग गरिएको आरोप लगाएका छन्।
लिकुड पार्टीका अनुसार धाँधली पुष्टि गर्ने सयौँ बयान र प्रमाणहरू इजरायली प्रहरी, आन्तरिक सुरक्षा निकाय (शिन बेट) र केन्द्रीय निर्वाचन समितिमा बुझाइसकिएको छ। विशेषगरी अरब समुदायका मतदान केन्द्रहरूमा नगदसहितका मतपत्र फेला परेको, कर्मचारीहरूलाई धम्काइएको र दोहोरो मतदान गरिएको दाबी गर्दै नेतन्याहुले दोषीमाथि कडा कानुनी कारबाहीको माग गरेका छन्।
१२० सदस्यीय इजरायली संसद् (नेसेट) मा बहुमतका लागि कम्तीमा ६१ सिट आवश्यक पर्छ। हालसम्मको परिणामअनुसार नेतन्याहुको गठबन्धनले ५३, विपक्षी आइजेनकोटको गठबन्धनले ४८ र अरब पार्टीहरूले १९ सिट प्राप्त गरेका छन्। कुनै पनि पक्षले स्पष्ट बहुमत नपाएपछि इजरायलमा पुनः नयाँ राजनीतिक समीकरण वा अन्योलको स्थिति सिर्जना भएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस