Techie IT
२०८३ कार्तिक १३, बिहीबार

देशभर मौसममा बदली, कहाँ छ भारी वर्षाको सम्भावना ?


बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको दोहोरो प्रभावका कारण देशभर मौसममा बदली हुनुका साथै विभिन्न स्थानमा भारी वर्षा र हिमपातको सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बुलेटिन जारी गर्दै आगामी २४ घण्टा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा साधारणतया बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बादल लाग्नेछ। यस क्रममा कोशी र बागमतीका हिमाली भेगका केही स्थान तथा अन्य प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। साथै, मधेस, कोशी र बागमतीका पहाडी तथा तराई भूभागका थोरै स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा मध्यम वर्षा हुनसक्छ।

आज रातिदेखि भने मौसम थप प्रतिकूल हुने पूर्वानुमान गरिएको छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा अधिकांश बदली रहनेछ। रातिको समयमा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपात हुने महाशाखाले जनाएको छ।

विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना छ। साथै लुम्बिनी र गण्डकी प्रदेशका तराई तथा पहाडी भेगमा पनि भारी वर्षा हुनसक्ने भएकाले यात्रा गर्दा र हिमाली तथा पहाडी क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई आवश्यक पूर्वतयारी तथा सतर्कता अपनाउन महाशाखाले सूचित गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट