चितवन राष्ट्रिय निकुञ्जमा अवैध गतिविधिमाथि कडाइ: ८ महिनामा १२८ जना पक्राउ
चितवन राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षको साउनदेखि हालसम्म विभिन्न अवैध गतिविधिमा संलग्न १ सय २८ जनालाई पक्राउ गरेको छ।
निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार पक्राउ पर्नेहरूमध्ये सबैभन्दा धेरै अवैध रूपमा माछा मार्ने रहेका छन्। निकुञ्जले राप्ती नदी मा अवैध रूपमा माछा मार्ने ७० जनालाई नियन्त्रणमा लिएर कारबाही गरेको जनाएको छ।
यस्तै, गैँडा सम्बन्धी मुद्दामा तीन, सालकसम्बन्धी पाँच, निउरो टिप्ने ११, अवैध रूपमा घाँस–दाउरा संकलन गर्ने ३०, पन्छी मार्ने एक, बिनाअनुमति निकुञ्ज प्रवेश गर्ने चार र अन्य चार जनालाई पनि पक्राउ गरिएको छ।
यस अवधिमा निकुञ्जले चार किसिमका मुद्दा अदालतमा दर्ता गराएको छ। जसमा सालकसम्बन्धी दुई, सवारीसाधनको ठक्करबाट गैँडा घाइते भएको एक र करेन्ट लगाएर गैँडा मारेको एक मुद्दा समावेश छन्।
निकुञ्जले यस आर्थिक वर्षमा हालसम्म नौवटा मुद्दा फर्स्योट गरेको छ। गत आर्थिक वर्षबाट सरिआएका २६ र यस वर्ष दर्ता भएको एक गरी कुल २७ मुद्दामध्ये नौवटाको फैसला भइसकेको छ भने १८ मुद्दा अझै विचाराधीन अवस्थामा रहेका छन्।
चालु अवस्थामा रहेका मुद्दामध्ये सातवटा वनसम्बन्धी र ११ वटा वन्यजन्तुसँग सम्बन्धित रहेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस