पर्यटक भिसामा धर्म प्रचार गर्ने पाँच अमेरिकी नागरिक पक्राउ
पर्यटक भिसामा नेपाल आएर क्रिश्चियन धर्म प्रचारमा संलग्न भएको आरोपमा पाँच अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन्। क्रिश्चियन मिसनका लागि स्वास्थ्य शिविर सञ्चालन गरेको पाइएपछि उनीहरूलाई मोरङबाट नियन्त्रणमा लिइएको हो।
मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा ‘मर्सी डेभलपमेन्ट’ नामक संस्थाले पर्यटक भिसामा आएका विदेशी चिकित्सक तथा व्यक्तिहरूलाई सामेल गराएर स्वास्थ्य शिविर सञ्चालन गरेको थियो। स्थानीयस्तरमा विवाद भएपछि विदेशी नागरिक अनुगमन जिल्ला समितिको निर्णयअनुसार उनीहरूको राहदानी तथा कागजात जफत गरी आवश्यक कारबाहीका लागि अध्यागमन विभाग पठाइएको छ।
गत कात्तिक ८ गतेदेखि चार दिनसम्म सञ्चालन गर्ने भनिएको उक्त शिविरको तयारी पास्टर पावेल दङ्गालले गरेका थिए। स्थानीय किराना व्यवसायी नवराज श्रेष्ठले अस्पताल निर्माणको नाममा तीन कट्ठा जग्गामा बनाएका भवनहरूमा यसअघि नै धार्मिक कक्षा तथा गतिविधिहरू सञ्चालन हुँदै आएका थिए। स्थानीयको विवाद र असन्तुष्टि साम्य पार्न व्यवसायी श्रेष्ठले उक्त शिविरको आयोजना गरेको खुल्न आएको छ। हाल उक्त स्थानमा दुई जना पास्टर र केही सिलाइ-कटाइ प्रशिक्षकहरू बस्दै आएका छन्।
गृह मन्त्रालयका अनुसार पक्राउ पर्नेमा ५ जना अमेरिकी, ३ जना ब्राजिलियन र २ जना क्यानेडियन नागरिक रहेका छन्। उनीहरू गत अक्टोबर २२ र २३ मा नेपाल प्रवेश गरेका थिए भने उनीहरूका भिसाको म्याद नोभेम्बर ६ देखि २१ सम्म रहेको खुलेको छ। विनास्वीकृति पर्यटक भिसाको दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न भएका विदेशीहरूमाथि थप छानबिन तथा कानुनी प्रक्रिया अघि बढाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस