राजधानीमा गर्मी बढ्यो, आजको तापक्रम यो वर्षकै उच्च
काठमाडौं उपत्यकाको अधिकतम तापक्रम आज (असार १३) २०८३ सालयताकै उच्च मापन भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार काठमाडौंको अधिकतम तापक्रम ३१.७ डिग्री सेल्सियस पुगेको हो।
महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार यसअघि पनि यस वर्ष तापक्रम ३१ डिग्री सेल्सियस पुगेको भए पनि शनिबारको तापक्रम सबैभन्दा उच्च हो। "यस वर्ष यसअघि पनि तापक्रम ३१ डिग्री पुगेको थियो, तर आज ३१.७ डिग्री पुगेको छ। रेकर्ड हेर्दा यो २०८३ साल लागेयताकै उच्च तापक्रम हो," उनले भने। यसअघि काठमाडौंको अधिकतम तापक्रम असार १२ गते ३०.५, असार ११ गते ३१ र असार १० गते ३०.६ डिग्री सेल्सियस मापन गरिएको थियो।
शनिबार बिहानैदेखि घाम चर्किएकाले तापक्रम बढेको मौसमविद् लामिछानेले बताए। उनका अनुसार आज राति र आइतबार बिहान हल्का वर्षाको सम्भावना रहेकाले केही राहत मिल्न सक्छ। उनले मनसुनको गतिविधि क्रमशः सक्रिय हुँदै गएको उल्लेख गर्दै असार १५ देखि देशका अधिकांश स्थानमा वर्षाको सम्भावना अझ बढ्ने बताए।
आज देशकै सबैभन्दा बढी तापक्रम भने नेपालगन्जमा ४०.६ डिग्री सेल्सियस मापन गरिएको छ। त्यसपछि धनगढीमा ४०.४, वीरेन्द्रनगरमा ३८.२, दिपायल र भैरहवामा समान ३७.५, सिमरामा ३६.२ तथा जनकपुरमा ३५.८ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको महाशाखाले जनाएको छ।
काठमाडौंको हालसम्मकै उच्च अधिकतम तापक्रम भने सन् १९८९ मे ७ मा ३६.६ डिग्री सेल्सियस मापन गरिएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस