Techie IT
२०८३ असार १५, सोमबार

३४ भन्दा बढी जिल्लामा आकस्मिक बाढीको चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह


देशभरका ३४ भन्दा बढी जिल्लामा बहने साना तथा सहायक नदीहरूमा आजदेखि बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढी आउने मध्यम जोखिम रहेको भन्दै बाढी पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाले जारी गरेको बुलेटिनअनुसार झापा, इलाम, पाँचथर, ताप्लेजुङ, सङ्खुवासभा, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, गोरखा, लमजुङ र चितवनका साना नदी तथा खोलामा पानीको बहाव बढ्ने सम्भावना छ।

यस्तै, कास्की, पाल्पा, स्याङ्जा, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, सुर्खेत, दैलेख, कालिकोट, जाजरकोट, रुकुम पश्चिम, बैतडी, दार्चुला, डोटी (दिपायल), डडेल्धुरा, अछामलगायत जिल्लाका खोला तथा साना नदीहरूमा पनि आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार यो जोखिम आजमात्र नभई भोलि र पर्सिसम्म पनि कायम रहने सम्भावना छ। विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश साना नदीहरूमा बहाव अचानक बढ्न सक्ने अनुमान गरिएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही साना नदीमा पनि सोही अवधिमा आकस्मिक बाढीको जोखिम रहने बताइएको छ।

यद्यपि, देशका प्रमुख नदीहरूको अवस्था भने हाल सामान्य रहेको महाशाखाले जनाएको छ। आज बिहानसम्मको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका प्रमुख सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तल रहेको छ। कन्काई, कमला, बबई, पूर्वी राप्ती तथा पश्चिम राप्ती नदीको बहाव पनि सुरक्षित सीमाभित्र रहेको जनाइएको छ।

महाशाखाले नदी किनार, तटीय क्षेत्र तथा साना खोल्सामा आवतजावत गर्ने सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन तथा मौसम र बाढीसम्बन्धी सूचनाको नियमित जानकारी लिन आग्रह गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट