मनसुन देशभर विस्तार हुँदै, दुई दिन भारी वर्षा र हावाहुरीको जोखिम
काठमाडौ उपत्यकासहित देशका धेरै स्थानमा सोमबार बिहानैदेखि वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोसी, मधेस र वाग्मतीका सबै क्षेत्र तथा गण्डकी र लुम्बिनीको पूर्वी भूभागमा मनसुनी वायुको प्रभाव छ। बाँकी क्षेत्रमा भने पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
महाशाखाले आज र भोलिभित्रै मनसुन देशभर विस्तार हुने अनुमान गरेको छ। हालसम्म पनि कर्णाली, सुदूरपश्चिम र लुम्बिनीका केही भागमा मनसुन पुग्न बाँकी छ।
आज लमजुङको भोर्लेटारमा तीन घण्टामै ११४ मिलिमिटर ‘धेरै भारी’ वर्षा रेकर्ड गरिएको छ। चितवन, दाङ, बाँके र बर्दियामा पनि भारी वर्षा भएको छ। आइतबार रातिदेखि गण्डकी र लुम्बिनीमा व्यापक वर्षा भएको छ भने कोसी, वाग्मती, सुदूरपश्चिम, कर्णाली र मधेसका केही स्थानमा मेघगर्जनसहित पानी परेको छ।
आगामी जोखिम (असार १६ र १७): मंगलबार र बुधबार मनसुन थप सक्रिय भई मधेस, कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका धेरै ठाउँमा भारी वर्षा र तराईका क्षेत्रमा हावाहुरी आउने सम्भावना छ।



तपाईको प्रतिक्रिया दिनुहोस