Techie IT
२०८३ श्रावण ७, बिहीबार

अन्नपूर्ण क्षेत्रमा पदयात्रीका लागि उचाइ बन्यो काल, लेक लागेर एकै वर्षमा २५ को मृत्यु


अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) भित्र लेक लागेर (हाई अल्टिच्युड/अल्टिच्युड सिकनेस) एकै वर्षमा २५ जना पदयात्री तथा पर्यटकको मृत्यु भएको छ। एक्याप कार्यालय पोखराका अनुसार सोही अवधिमा दुर्घटनामा परी थप ५ जनाको ज्यान गएको छ।

सबैभन्दा बढी मुस्ताङमा १५ जनाको लेक लागेर मृत्यु भएको छ। जसमा मुक्तिनाथ क्षेत्रमा ८ भारतीय र ४ नेपाली, दामोदर कुण्डमा १ नेपाली, लोमन्थाङमा १ नेपाली तथा टुकुचेमा १ मेक्सिकन नागरिक रहेका छन्।

यसैगरी, मनाङमा ८ जनाको लेक लागेर ज्यान गएको छ। जसमध्ये नार–फु क्षेत्रमा ३ नेपाली भरिया तथा गाइड, अन्नपूर्ण चक्रपथमा १ नेपाली गाइड, १ नेपाली पर्यटक, १ भारतीय, १ जापानी र १ सिङ्गापुरका नागरिक छन्। यस्तै मार्दी हिमाल क्षेत्रमा १ स्पेनिस नागरिक र अन्नपूर्ण आधार शिविर (ABC) जाने बाटोमा १ नेपालीको लेक लागेर मृत्यु भएको एक्यापका निर्देशक डा. रविन कडरियाले जानकारी दिए।

पदयात्रा र पर्वतारोहणका क्रममा भएका दुर्घटनामा परी ५ जनाले ज्यान गुमाएका छन्। मनाङमा भारी हिमपातमा बेपत्ता भएका २ भारतीय पर्यटक पछि मृत भेटिएका थिए भने हिमलुङ हिमाल आरोहणका क्रममा १ अस्ट्रेलियाली पर्वतारोहीको लडेर मृत्यु भएको थियो। त्यस्तै, मार्दी मार्गमा हराएका १ नेपाली र खोप्रा पदमार्गमा लडेर १ जर्मन नागरिकको मृत्यु भएको एक्यापले जनाएको छ।

आयोजना निर्देशक डा. कडरियाले उचाइमा यात्रा गर्दा पूर्वसावधानी अपनाउन र हतार नगर्न आग्रह गरेका छन्। "उच्च हिमाली क्षेत्रमा जानु आफैँमा जोखिमपूर्ण हुन्छ, त्यसैले पूर्वतयारी आवश्यक छ," उनले भने, "लेक लागेको लक्षण देखिनेबित्तिकै जतिसक्दो छिटो तल झर्नुपर्छ।" एक्यापले पदमार्गका विभिन्न स्थानमा सचेतनामूलक सूचना बोर्डहरूसमेत राखेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट