काठमाडौँमा चिसो बढ्दै
हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ भने तराईका केही भूभागमा हुस्सु तथा तुवाँलो लागेको छ।
आज दिउँसो कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
काठमाडौँ उपत्यकामा आज न्यूनतम तापक्रम ८ देखि १० डिग्री र अधिकतम तापक्रम २२ देखि २४ डिग्री सेल्सियससम्म रहने पूर्वानुमान गरिएको छ।
आज राति कोशी र गण्डकी प्रदेशका हिमाली भूभाग तथा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
शनिबार बिहान उपत्यका र खोँचका साथै तराई भेगका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस