Techie IT
२०८२ जेष्ठ ३०, शुक्रबार

ग्रिनल्यान्डको हिउँ मे मै १७ गुणा छिटो पग्लियो, आइसल्यान्डमा तापक्रमले रेकर्ड तोड्दै


ग्रिनल्यान्डको हिउँ यो वर्षको मे महिनामै सामान्यभन्दा १७ गुणा छिटो पग्लिएको वैज्ञानिकहरूले बताएका छन्। ‘वल्र्ड वेदर एट्रिब्युसन (WWA)’ नामक वैज्ञानिक संस्थाले बुधबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार आर्कटिक क्षेत्रमा आएको असामान्य गर्मीका कारण हिउँ पग्लने दर अत्यन्त तीव्र भएको हो ।

ग्रिनल्यान्डको बरफ पग्लनुले समुद्री सतह वृद्धि हुँदै जानमा ठूलो योगदान पुर्‍याइरहेको वैज्ञानिकहरूको चेतावनी छ । इम्पेरियल कलेज लन्डनकी जलवायु विज्ञानकी सहप्राध्यापक फ्रिडेरिके ओटोका अनुसार, “यदि जलवायु परिवर्तन नहुने हो भने यति छिटो पग्लने सम्भावना नै रहने थिएन ।”

यस गर्मीले ग्रिनल्यान्डसँगै आइसल्यान्डलाई पनि प्रत्यक्ष असर पारेको छ। मे १५ तारिखमा आइसल्यान्डको तापक्रम २६ डिग्री सेल्सियस पुगेको थियो, जुन त्यहाँको ऐतिहासिक औसतभन्दा १३ डिग्री बढी हो । सन् १९९१–२०२० को औसत तुलनामा यो तापक्रम अभूतपूर्व भएको WWA ले जनाएको छ । देशको मौसम विभागअनुसार, आइसल्यान्डका ९४% मौसम केन्द्रले यस मे महिनामा रेकर्ड तापक्रम मापन गरेका छन् ।

पूर्वी ग्रिनल्यान्डमा पनि गर्मीको समयमा अधिकतम तापक्रम पूर्व–औद्योगिक युगको तुलनामा ३.९ डिग्री सेल्सियसले बढी मापन गरिएको छ । यति “सामान्य” नदेखिए पनि, वैज्ञानिक ओटोका अनुसार “यो क्षेत्रका लागि यो अवस्था अत्यन्तै चरम हो, जसको असर विश्वव्यापी हुनसक्छ ।”

ग्रिनल्यान्डका आदिवासी समुदायमा यसले जीवनशैलीमा ठुलो असर पुर्‍याएको छ । बरफमा आधारित सिकार, जीविकोपार्जन र परम्परागत अभ्यासमा बाधा आइपरेको छ। त्यस्तै, चिसो मौसमअनुकूल निर्माण गरिएका पूर्वाधारहरूमा पग्लँदो हिउँले क्षति पुर्‍याउने खतरा पनि बढेको छ । बाढीको सम्भावना, सडक र संरचनामा क्षति हुने सम्भावनासहितको चेतावनी डब्लुडब्लुएले दिएको छ।

वैज्ञानिकहरूका अनुसार, यसप्रकारको तापक्रम र हिउँ पग्लिने घटना अहिले सय वर्षमा एकपटकजस्तो दुर्लभ भए पनि, जलवायु परिवर्तन यथावत् रहँदा यस्ता घटना भविष्यमा बारम्बार देखिन सक्नेछन ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट