Techie IT
२०८२ असार १७, मंगलबार

जलवायु सङ्कटले जीवनको अधिकारमा गम्भीर असर पार्दै : संयुक्त राष्ट्रसंघ


दक्षिणी युरोपमा तीव्र गर्मीको लहर चलिरहेका बेला संयुक्त राष्ट्रसंघका मानवअधिकार उच्चायुक्त भोल्कर टुर्कले जलवायु परिवर्तनले मानिसको जीवन र अधिकारमा गम्भीर खतरा उत्पन्न गराइरहेको बताएका छन् ।

संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्लाई सम्बोधन गर्दै उनले भने, “जलवायु सङ्कट भनेको मानवअधिकारको सङ्कट हो । तापक्रमको वृद्ध, समुद्री सतहको बढ्दो मात्रा, बाढी, खडेरी र डढेलोले जीवन, स्वास्थ्य, स्वच्छ, स्वस्थ र दिगो वातावरणमा बाँच्न पाउने अधिकारसहित अन्य धेरै अधिकारहरूमा असर पुर्‍याइरहेका छन् ।”

उच्चायुक्त टुर्कले युरोपमा देखिएको हालको गर्मीको लहरले जलवायु परिवर्तनसँग जुध्न आवश्यक तयारी तथा उपायहरू अपनाउन सबैको ध्यान जानु पर्ने बताएका छन् ।

उनले जीवाश्म इन्धन प्रयोग गर्ने उद्योगहरूले गलत प्रचार र झुटा समाधानमार्फत वास्तविकता लुकाउने प्रयास गरिरहेको, साथै वातावरणीय क्षतिबाट ध्यान हटाएर मुनाफा कमाइरहेकोप्रति चिन्ता व्यक्त गरेका छन् । उनले यस्ता उद्योगलाई जवाफदेही बनाउने उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन् ।

“प्राकृतिक स्रोतको दुरुपयोगबाट लाभ उठाउने व्यक्तिहरू र संस्थाहरूले त्यसको मूल्य तिर्नुपर्छ ।” उच्चायुक्तका अनुसार जलवायु रूपान्तरणका लागि दिइने अन्तर्राष्ट्रिय आर्थिक सहयोग प्रायः ऋणको रूपमा हुने भएकाले यसले गरिब तथा विकासोन्मुख मुलुकहरूमा थप ऋणको बोझ सिर्जना गरिरहेको छ । “आज करिब तीन अर्ब ३० करोड मानिस यस्ता मुलुकहरूमा बसोबास गर्छन्, जसले शिक्षा, स्वास्थ्यभन्दा बढी रकम ऋणको ब्याज तिर्न खर्च गरिरहेका छन्,” उनले बताए।

उनले मानवअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय कानुनले वातावरण र जलवायु जोगाउन राष्ट्रहरूको कर्तव्य प्रष्ट रूपमा परिभाषित गर्दै लगेको र यो प्रक्रियाले जलवायु न्याय सुनिश्चित गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

जलवायु परिवर्तनसम्बन्धी छलफल भइरहेका बेला जेनेभामा अत्यधिक गर्मी भएकाले मानवअधिकार परिषद्का अध्यक्षले पोशाकसम्बन्धी नियममा केही सहजता अपनाउँदै टाइ नलगाउने निर्णय गरेका थिए । सो दिन त्यहाँको तापक्रम ३३ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको थियो ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट