आइजीपीको राजीनामा मागेको खबर निराधार: प्रहरी प्रधान कार्यालय
सरकारले प्रहरी महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीको राजीनामा मागेको भन्दै प्रकाशित/प्रसारित समाचारहरूप्रति प्रहरी प्रधान कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यसको खण्डन गरेको छ। केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आएका यस्ता समाचारहरूमा कुनै सत्यता नभएको प्रहरी हेडक्वार्टरले स्पष्ट पारेको हो।
बिहीबार राति एक औपचारिक प्रेस विज्ञप्ति जारी गर्दै प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालय वा सरकारका तर्फबाट आइजीपी कार्कीको राजीनामा मागिएको भन्ने खबर कपोलकल्पित, भ्रामक र निराधार रहेको जनाएको छ।
प्रहरी प्रधान कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरूमा सरकारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको राजीनामा मागेको भन्ने विषयलाई जोडेर सम्प्रेषित समाचारहरूप्रति नेपाल प्रहरीको गम्भीर ध्यानाकर्षण भएको छ। उक्त समाचारहरूमा कुनै सत्यता नरहेको र यो पूर्णतः निराधार एवं भ्रामक रहेको स्पष्ट पारिन्छ।”
सुरक्षा निकायजस्तो संवेदनशील संस्था र त्यसको नेतृत्वका विषयमा तथ्यहीन समाचार सम्प्रेषण गर्दा आम नागरिकमा भ्रम सिर्जना हुने र संगठनको मनोबलमा समेत असर पर्ने विज्ञप्तिमा उल्लेख छ।
प्रहरी प्रधान कार्यालयले सम्पूर्ण नागरिक, सञ्चारकर्मी तथा सरोकारवालाहरूलाई आधिकारिक र प्रमाणित तथ्यका आधारमा मात्र सूचना सम्प्रेषण तथा विश्वास गर्न आग्रह गरेको छ। कुनै पनि विषयमा आधिकारिक भनाइ वा विज्ञप्तिबिना फैलाइने अपुष्ट र भ्रामक हल्लाको पछाडि नलाग्नसमेत नेपाल प्रहरीले अपिल गरेको छ।
साथै, संगठनको मर्यादा, साख र नेतृत्वको चरित्र हत्या गर्ने उद्देश्यले भ्रामक सूचना फैलाउने व्यक्ति वा माध्यमविरुद्ध प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने चेतावनीसमेत प्रहरी हेडक्वार्टरले दिएको छ।





तपाईको प्रतिक्रिया दिनुहोस