पुरीस्थित जगन्नाथ मन्दिर : आस्था, इतिहास र रहस्यको अद्भुत धाम

पुरीस्थित जगन्नाथ मन्दिरको इतिहास करिब एक हजार वर्ष पुरानो मानिन्छ। यसको निर्माण गंग वंशका राजा अनन्तवर्मन चोडगंगदेवले १२औँ शताब्दीमा सुरु गरेका थिए भने यसको स्थापना प्राचीन राजा इन्द्रद्युम्नले गरेका विश्वास गरिन्छ।
भगवान जगन्नाथलाई समर्पित यो मन्दिर वार्षिक रथयात्राका लागि विश्वप्रसिद्ध छ। इतिहासभरि यस मन्दिरले थुप्रै आक्रमण र पुनर्निर्माणको सामना गरेको छ, जसमा १६औँ शताब्दीमा अफगान सेनापति कालापहाडको आक्रमण सबैभन्दा चर्चित छ।
प्रारम्भिक इतिहास र किंवदन्ती अनुसार महाभारतकालीन राजा इन्द्रद्युम्नलाई जगन्नाथको प्रारम्भिक मन्दिर निर्माता मानिन्छ। किंवदन्तीअनुसार उनले नील पर्वतको गुफामा भील सरदार विश्वासुबाट पूजित नीलमाधवको मूर्ति पत्ता लगाई मन्दिरको आधारशिला राखेका थिए।
मन्दिरमा भगवान जगन्नाथ, उनका दाजु बलभद्र र बहिनी सुभद्राका काठका मूर्तिहरू प्रतिष्ठित छन्, जसलाई प्रत्येक १२–१९ वर्षमा नयाँ मूर्तिले प्रतिस्थापन गरिन्छ। गंग वंशका राजा अनन्तवर्मन चोडगंगदेवले सन् ११३५ मा मन्दिर निर्माण सुरु गरी सन् ११५० मा सम्पन्न गरेका थिए। पछि राजा अनंगभीमले सन् ११९७ मा यसलाई हालको स्वरूप दिएका थिए। सन् १५५८ मा कालापहाडको आक्रमणपछि यहाँको पूजा रोकिएको थियो। तर खुर्दाका रामचन्द्र देवले स्वतन्त्र राज्य स्थापना गरी मन्दिरलाई पुनःस्थापित गरे।
धार्मिक महत्त्व
पुरीको जगन्नाथ मन्दिर हिन्दू धर्मका चार धाममध्ये एक हो। यहाँको रथयात्रामा भगवान जगन्नाथ, बलभद्र र सुभद्राको विग्रह भव्य रथमा नगर परिक्रमा गरिन्छ। साथै, यहाँको ‘महालप्रसाद’ ५६ प्रकारका भोगका रूपमा विशेष मानिन्छ।
महाभारतको वनपर्वमा जगन्नाथ धामको उल्लेख पाइन्छ। भनिन्छ, राजा इन्द्रद्युम्नले सपनामा भगवानको दर्शन पाएपछि समुद्रमा तैरिरहेको नीमको काठबाट मूर्ति निर्माण गर्ने आदेश पाए। भगवान विश्वकर्मा वृद्धको रूप लिएर मूर्ति बनाउन थाले तर अधुरै अवस्थामा अन्तर्ध्यान भए। आजसम्म प्रतिष्ठित मूर्तिहरू त्यही अधुरो स्वरूपका छन्।
जगन्नाथ मन्दिर कलिंग शैलीमा बनेको छ। करिब २१४ फिट अग्लो यो मन्दिर २० फिट अग्लो प्राचीरले घेरेको छ। मन्दिरको शिखरमा अष्टधातुबाट बनेको नीलचक्र छ, जुन पुरी शहरको जुनसुकै स्थानबाट हेर्दा सधैं बीचमै देखिन्छ।
मन्दिर रथयात्रासँगै रत्न भण्डारका कारण पनि प्रसिद्ध छ। यसलाई अन्तिम पटक जुलाई २०२४ मा खोलिएको थियो, तर यसको चाबी हराएको विषयले राष्ट्रिय चर्चा पाएको छ।
मन्दिरसँग जोडिएका केही प्रसिद्ध रहस्यहरू:
भगवान कृष्णको हृदय अझै मूर्तिभित्र धड्किरहेको विश्वास।
सिंहद्वारभित्र पस्दा समुद्रको आवाज हराउने घटना।
मन्दिरको ध्वज हावाको विपरीत दिशामा फर्फराउने अद्भुत दृश्य।
सातवटा भाँडामा एकमाथि अर्को राखी पकाइने प्रसादमा पहिलो पकाउने शक्ति माथिल्लो भाँडाबाट सुरु हुने परम्परा।
प्रत्येक १२ वर्षमा मूर्तिहरू बदलिँदा ‘ब्रह्म पदार्थ’ नयाँ मूर्तिमा स्थानान्तरण हुने गुप्त विधि।
मन्दिरमा केवल सनातनी हिन्दू धर्मावलम्बीलाई मात्र प्रवेश अनुमति छ। यही कारण पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीलाई समेत प्रवेश दिइएको थिएन।
जगन्नाथ धाम पुरी, ओडिशा राज्यको बंगालको खाडी किनारमा अवस्थित छ।
परिसर: करिब ३७,००० वर्ग मिटर क्षेत्रमा फैलिएको मन्दिरलाई अग्ला पर्खालले घेरेको छ।
पर्खाल: बाहिरी पर्खाललाई ‘मेघनाद पचेरी’ र भित्री पर्खाललाई ‘कूर्म बेधा’ भनिन्छ।
संरचना: मुख्य मन्दिर (रेखा देउला), मुखशाला, नटमण्डप (नृत्य हल), र भोगमण्डप (प्रसाद हल) गरी विभिन्न खण्ड छन्।
तपाईको प्रतिक्रिया दिनुहोस