ह्वाइट हाउस बाहिर गोलीकाण्ड : सुरक्षाकर्मीमाथि आक्रमण गर्ने संदिग्ध मारिए
अमेरिकाको ह्वाइट हाउस बाहिर शनिबार साँझ गोलीकाण्ड भएको छ। एक संदिग्ध व्यक्तिले अमेरिकी गोप्य सुरक्षा निकाय ‘सेक्रेट सर्भिस’का एजेन्टहरूमाथि अन्धाधुन्ध गोली प्रहार गरेपछि सुरक्षाकर्मीको जवाफी कारबाहीमा उनको मृत्यु भएको हो।
सेक्रेट सर्भिसका अनुसार स्थानीय समयअनुसार शनिबार साँझ करिब ६ बजे १७औँ स्ट्रिट र पेन्सिलभेनिया एभिन्यु नजिक पुगेका एक व्यक्तिले झोलाबाट हतियार निकालेर अचानक गोली चलाउन थालेका थिए।
सुरक्षाकर्मीले तत्काल जवाफी कारबाही गर्दा ती संदिग्ध गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकहरूले मृत घोषणा गरेका छन्।
घटनामा एक सर्वसाधारण बटुवा पनि घाइते भएका छन्। उनको अवस्था गम्भीर रहेको बताइएको छ। सुरक्षा निकायका कुनै अधिकारी भने घाइते नभएको जनाइएको छ।
घटनाका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसभित्रै रहे पनि उनी पूर्ण रूपमा सुरक्षित रहेको सेक्रेट सर्भिसले जनाएको छ। घटनापछि ह्वाइट हाउस क्षेत्रमा केही समय ‘लकडाउन’ समेत गरिएको थियो।
प्रत्यक्षदर्शी पत्रकारहरूका अनुसार घटनास्थलमा १५ देखि ३० राउन्डसम्म गोली चलेको आवाज सुनिएको थियो। गोली चल्न थालेपछि ह्वाइट हाउसभित्र रहेका पत्रकारहरूलाई तत्काल सुरक्षित स्थानमा सारिएको थियो।
घटनाबारे संघीय अनुसन्धान ब्युरो र सेक्रेट सर्भिसले थप अनुसन्धान गरिरहेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस