ओलीको कडा चेतावनी: "चौतर्फी आक्रमण विफल पारेर मात्रै नेतृत्व छाड्छु"
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चौतर्फी आक्रमणबाट कमजोर पारिएको पार्टीलाई पुरानै बलियो अवस्थामा फर्काएर मात्र आफूले नेतृत्वबाट बिदा लिने घोषणा गरेका छन्। आइतबार सम्पन्न पार्टीको सचिवालय बैठकमा उनले अब आफू देश दौडाहामा निस्कने बताएका हुन्।
बैठकको निर्णय र विकसित घटनाक्रमका मुख्य बुँदाहरू यसप्रकार छन्:
मैदानमा उत्रिने ओलीको तयारी: एमाले सचिव महेश बस्नेतका अनुसार अध्यक्ष ओलीले आफ्नो स्वास्थ्य ९८ प्रतिशत ठिक भइसकेको दाबी गर्दै अब पार्टीको ऊर्जा जगाउन प्रत्येक जिल्ला र प्रदेशको फिल्डमै खटिने बताएका छन्। उनले पार्टीलाई एक्ल्याउने प्रयास भइरहेको भन्दै आक्रोशसमेत पोखेका थिए ।
राजीनामाको माग: बैठकमा नेताहरू विष्णु पौडेल र योगेश भट्टराईले मात्र अध्यक्ष ओलीको राजीनामाको विषय उठाएका थिए। तर, ओलीले त्यसलाई ठाडै अस्वीकार गर्दै जोस र ऊर्जाका साथ बैठक समापन गरेका थिए।
केन्द्रीय कमिटी बैठक आह्वान: अध्यक्ष ओलीको निवास गुण्डुमा बसेको सचिवालयको आठौँ बैठकले आगामी असार १५ देखि २० गतेभित्र केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ। उपमहासचिव लेखराज भट्टका अनुसार अध्यक्ष र महासचिव शङ्कर पोखरेलले परामर्श गरी बैठकको अन्तिम मिति तय गर्नेछन्।
पार्टी पुनर्गठन र कार्यदल गठन: सचिवालय बैठकमा नेताहरूले पार्टी पुनर्गठनको मुद्दा उठाएका छन्। यसबारे अन्तिम निर्णय केन्द्रीय कमिटीबाटै हुनेछ। पार्टी पुनर्गठनसम्बन्धी ठोस सुझाव दिन उपाध्यक्ष रामबहादुर थापा 'बादल' को संयोजकत्वमा एउटा कार्यदलसमेत गठन गरिएको छ। केन्द्रीय कमिटी बैठकमा चुनावी समीक्षा प्रतिवेदन र सचिवालयमा उठेका विषयमाथि विस्तृत छलफल हुने बताइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस