Techie IT
२०८२ असोज ५, आइतबार

सोह्र श्राद्ध आज समापन हुने, पितृलाई तर्पणसहित दुर्गापक्षको सुरुवात


आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष आज अपराह्न दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गर्दै समापन हुँदैछ।

आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृपक्ष आश्विन कृष्ण औँसीका दिन समाप्त हुन्छ। सो दिन दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी पितृलाई तृप्त पारिन्छ। आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामह (आमाको बुबा)को श्राद्ध भने सोमबार सम्पन्न गरिने परम्परा छ।

पितृपक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदासहित सोह्र दिन दिवङ्गत पितृको नाममा गरिने तर्पण, सिदादान र पिण्डदानलाई सोह्र श्राद्ध पनि भनिन्छ।

पितृपक्षको अन्तिम दिन अर्थात् औँसीका दिन अनिवार्य रूपमा श्राद्ध गर्नुपर्ने शास्त्रीय मान्यता छ। कुनै कारणवश अन्य तिथिमा गर्नुपर्ने श्राद्ध रोकिएको भए आज गर्नु पर्ने धार्मिक विश्वास छ। आपत्कालीन अवस्थामा आश्विन शुक्ल प्रतिपदादेखि पञ्चमीसम्म पनि गर्न सकिने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराई बताउँछन्।

त्यसपछिको समयमै पनि श्राद्ध गर्न नसकेमा कार्तिक कृष्ण औँसी (लक्ष्मीपूजाको दिन) वा मङ्सिरको वृश्चिक सङ्क्रान्तिसम्म जुराएर गर्न सकिने वैदिक विकल्प छ। आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी, औँसी, भरणी नक्षत्र वा व्यतीपात योग परेका जुनसुकै तिथिमा पनि रोकिएको सोह्र श्राद्ध गर्न सकिने निर्णयसिन्धु, धर्मसिन्धुलगायतका ग्रन्थमा उल्लेख छ।

यदि यस्ता अवसरमा पनि श्राद्ध गर्न नसकिएमा ब्राह्मणमार्फत वा स्वयम् विधिपूर्वक दैनिक १०८ वैदिक मन्त्र जप गर्दै १० महिनासम्म निरन्तर गर्ने विकल्प पनि शास्त्रमा दिइएको छ। यस विधिबाट पनि पितृले तृप्ति प्राप्त गर्ने विश्वास गरिन्छ।

वैदिक सनातन हिन्दू परम्पराअनुसार ठूला चाडपर्व, यज्ञ वा माङ्गलिक कार्य अघि पितृलाई श्रद्धा र भक्तिपूर्वक सम्झनाका लागि सोह्र श्राद्ध गर्ने प्रचलन छ। यस अवधिमा पितृहरू पिण्ड र जलको आशले मर्त्यलोकमा झर्ने उल्लेख धर्मशास्त्रका हेमाद्रि, वीरमित्रोदय, निर्णयसिन्धु आदिमा पाइन्छ। धार्मिक ग्रन्थअनुसार आवश्यक कर्म नगरे पितृ सन्तानलाई श्राप दिने चेतावनी पनि छ।

श्राद्ध गर्दा पितृप्रतिप्रतिको दायित्व पूरा हुने र पितृऋणबाट मुक्त भइने धार्मिक विश्वास छ। नान्दीमुखी श्राद्ध, एकोद्दिष्ट श्राद्ध, पार्वण श्राद्ध, तीर्थ श्राद्ध, बद्रीनाथको ब्रह्मकपालमा गरिने ब्रह्मकपाली श्राद्धजस्ता विभिन्न विधिहरू प्रचलित छन्। शास्त्रीय वचनअनुसार सोह्र श्राद्ध अपराह्नमा गर्नुपर्छ।

यस अवसरमा काठमाडौं उपत्यकाको उत्तरपूर्वस्थित गोकर्णेश्वर उत्तरगया, नुवाकोट–रसुवाको सङ्गम बेत्रावती, देवघाट, त्रिवेणीलगायत तीर्थस्थलमा पितृका नाममा श्राद्ध गर्ने भक्तजनको भीड लाग्छ।

पितृपक्षको समाप्तिसँगै दुर्गापक्ष अर्थात् बडादशैं सुरु हुन्छ। असोज ६ गते सोमबार घटस्थापना गर्दै दुर्गापक्षको सुरुवात हुनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट