Techie IT
२०८३ भाद्र ८, सोमबार

आज राष्ट्रिय धान दिवस: वर्षा अभावले रोपाइँ प्रभावित


प्रत्येक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान दिवस आज देशभर धान रोपेर तथा दही–चिउरा खाएर उत्साहका साथ मनाइँदै छ। किसानहरू खेतमा धान रोपाइँमा व्यस्त रहँदा अन्य पेशा–व्यवसायमा आबद्ध नेपालीहरूले पनि दही–चिउरा खाएर यस पर्वको सांस्कृतिक महत्वलाई मनाइरहेका छन्।

नेपाली समाजमा असार १५ लाई ‘दही–चिउरा खाने पर्व’का रूपमा पनि चिनिन्छ। खेतमा दिनभरको श्रमपछि दही–चिउरा खाँदा शरीरमा शीतलता पुग्ने, ऊर्जा प्राप्त हुने र थकान कम हुने विश्वास रहिआएको छ। वैज्ञानिक दृष्टिले पनि दही पाचन प्रणालीका लागि लाभदायक मानिन्छ।

हाम्रो संस्कृतिमा दहीलाई शुभताको प्रतीक मानिन्छ। शुभकार्य, यात्रा वा विदेश प्रस्थानअघि दही–अक्षता लगाउने तथा सगुनका रूपमा दही खुवाउने परम्परा अहिले पनि कायम छ। आयुर्वेदमा समेत दही र त्यसबाट बनाइने मोहीलाई स्वास्थ्यका लागि उपयोगी मानिएको छ।

नेपालमा राष्ट्रिय धान दिवस मनाउने निर्णय विसं २०६१ मङ्सिर २९ गते भएको थियो भने २०६२ साल असार १५ गतेदेखि औपचारिक रूपमा दिवस मनाउन थालिएको हो। कृषिप्रधान मुलुक नेपालमा धान प्रमुख खाद्यान्न बाली भएकाले यस दिवसलाई विशेष महत्वका साथ मनाइन्छ।

असार महिनामा किसानहरू ‘असारे भाका’ गाउँदै हिलोमा धान रोप्ने परम्परा आज पनि जीवित छ। ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोकभाकाले खेतबारी गुञ्जायमान हुने गर्छन्। रोपाइँका क्रममा हिलो छ्यापाछ्याप गर्दै रमाइलो गर्ने परम्परा पनि ग्रामीण क्षेत्रमा अझै कायम छ।

तर, यस वर्ष असारको मध्यसम्म पनि देशका धेरै स्थानमा पर्याप्त वर्षा नहुँदा धान रोपाइँ अपेक्षित गतिमा अघि बढ्न सकेको छैन। केही स्थानमा किसानहरूले रासायनिक मल अभावको गुनासो समेत गरेका छन्। यद्यपि कृषि, वन तथा वातावरण मन्त्रालयले आवश्यक मात्रामा रासायनिक मल मौज्दात रहेको जनाएको छ।

कृषिसँग जोडिएको नेपाली जीवन, संस्कृति र परम्पराको प्रतीक मानिने असार १५ ले किसानको श्रम, खाद्य सुरक्षाको महत्व र कृषि संस्कृतिप्रतिको सम्मानलाई अझ मजबुत बनाउने विश्वास गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट