हाजिर जमानीमा छुटेकी बेदिका आज पुनः साइबर ब्युरोमा उपस्थित हुने
धर्मगुरु राधिका दासीको उजुरीका आधारमा पक्राउ परी बिहीबार हाजिर जमानीमा रिहा भएकी बेदिका केसी शुक्रबार पुनः नेपाल प्रहरीको साइबर ब्युरोमा हाजिर हुने भएकी छन्।
साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) दिलीप गिरीका अनुसार बिहीबार प्रारम्भिक सोधपुछपछि केसीलाई शुक्रबार उपस्थित हुने शर्तसहित हाजिर जमानीमा छाडिएको थियो। सोही बमोजिम उनी आज ब्युरोको कार्यालयमा हाजिर हुन लागेकी हुन्।
एसपी गिरीले घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको जानकारी दिएका छन्। उनका अनुसार उजुरीमा उल्लेख गरिएका दाबीहरूमाथि प्रमाण सङ्कलन, बयान तथा प्राविधिक विश्लेषणको प्रक्रिया निरन्तर चलिरहेको छ।
अनुसन्धानबाट खुल्न आउने निष्कर्ष र प्रमाणका आधारमा थप कानुनी प्रक्रिया अगाडि बढाइने ब्युरोले जनाएको छ।
राधिका दासीले सामाजिक सञ्जालमार्फत आफ्नो मानहानि गरेको र चरित्र हत्या हुने गरी सामग्री सम्प्रेषण गरेको आरोप लगाउँदै साइबर अपराध अन्तर्गत ब्युरोमा उजुरी दर्ता गराएकी थिइन्। सोही उजुरीका आधारमा ब्युरोले केसीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो।



तपाईको प्रतिक्रिया दिनुहोस