बझाडको बिर्सती मेलाको सम्पूर्ण तयारी पूरा, लाखौको उपस्थिति हुने आकलन
बझाङ जिल्लाको दुर्गाथली गाउँपालिका र छविसपाथिभरा गाउँपालिकामा पर्ने थलीनौविसमा परम्परागत रूपमा मनाइने ऐतिहासिक तथा सांस्कृतिक ‘बिर्सती मेला’ को सम्पूर्ण तयारी पूरा भएको छ।
मेला व्यवस्थापन समितिका संयोजक एवं दुर्गाथली गाउँपालिकाका उपाध्यक्ष जनकबहादुर दौल्यालले दिएको जानकारी अनुसार, आगामी भदौ २० गतेदेखि शुरू हुने मेलाको सम्पूर्ण प्रबन्ध मिलाइएको छ।
परापूर्वकालदेखि सञ्चालन हुँदै आएको यस धार्मिक मेलामा यस वर्ष पनि बझाङलगायत देशका विभिन्न भाग र भारतबाट समेत गरी लाखौं श्रद्धालुहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। विशेषगरी थलीमा अवस्थित प्रसिद्ध दुर्गादेवीको पूजाआराधना तथा दर्शन गर्नका लागि टाढा-टाढाबाट हरेक वर्ष भक्तजनहरूको अत्यधिक घुइँचो लाग्ने गर्दछ।
यसपटकको मेलालाई थप आकर्षक र व्यवस्थित बनाउन विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरूको समेत आयोजना गरिएको छ। संयोजक दौल्यालका अनुसार मेला अवधिभर पुरुष तथा महिला खुला भलिबल प्रतियोगिता, दोहोरी र डेउडा प्रतियोगिता सञ्चालन हुनेछन्।
साथै, मेलालाई मनोरञ्जनात्मक बनाउन राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरूसँगै स्थानीय कलाकारहरूले पनि आ-आफ्ना विशेष सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिहरू दिनेछन्। धार्मिक आस्थाको केन्द्र र सांस्कृतिक पहिचान बोकेको यस बिर्सती मेलाले स्थानीय पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।




तपाईको प्रतिक्रिया दिनुहोस