Techie IT
२०८३ असोज ३, शनिबार

आज कागे अष्टमी: काग दोषबाट मुक्त हुन कागेश्वरी महादेवमा भक्तजनको घुइँचो


प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने 'कागे अष्टमी' पर्व आज देशभरका कागेश्वरी महादेव मन्दिरमा विधिपूर्वक पूजा-आराधना गरी मनाइँदै छ। यस अवसरमा कागेश्वरी महादेव मन्दिरमा पुगी पूजा गरेमा कागको स्पर्शाजन्य लगायतका विभिन्न दोषबाट मुक्त भइने धार्मिक विश्वास रहिआएको छ। वर्षभरिमा कागले स्पर्श गरेका वा अन्य काग दोष लागेका व्यक्तिहरूले आज अनिवार्य रूपमा कागेश्वरीको दर्शन गर्नुपर्ने मान्यता छ। साथै, आजैको दिन कागेश्वरीमा हरियो मकै चढाएमा कागले बारीको मकै नखाने जनविश्वास समेत छ।

श्रावण शुक्ल पूर्णिमा र गङ्गा दशहरा पर्वका अवसरमा रसुवाको प्रसिद्ध धार्मिक स्थल गोसाइँकुण्ड पुगेका भक्तजनहरूले त्यहाँबाट ल्याएको जल आज कागेश्वरीमा चढाउनुपर्ने धार्मिक विधि छ। गोसाइँकुण्ड जाने भक्तजनले यहाँ जल नचढाए धार्मिक यात्रा अधुरै रहने जनविश्वास छ।

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय दृष्टिले अत्यन्त महत्त्वपूर्ण कागेश्वरी महादेव मन्दिरको मेलामा देश-विदेशबाट लाखौँ भक्तजनको भीड लाग्ने गर्छ। भक्तजनहरूको सहजताका लागि मन्दिर जाने यातायात व्यवस्थालाई थप सहज बनाइएको कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले जानकारी दिएका छन् ।

मन्दिर परिसरमा रहेको २२७ किलोको अष्टधातु निर्मित कागको मूर्ति हाल यहाँको प्रमुख आकर्षण बनेको छ, जुन नेपालकै ठुलो कागको मूर्ति हो। त्यस्तै, नजिकैको लोकतान्त्रिक सहिद उद्यानमा एक हजार किलोको अष्टधातुबाट बनेको विश्वकै ठुलो कागको मूर्ति निर्माण गरिएको छ। स्थानीय बासिन्दाको धातु दान सहयोगबाट यो मूर्ति निर्माण सम्भव भएको हो।

कागेश्वरी मन्दिरकै नामबाट यस क्षेत्रको नामकरण "कागेश्वरी मनोहरा नगरपालिका" राखिएको हो। यसै पर्वको अवसरमा नगरपालिकाले प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन नगरपालिकाभर सार्वजनिक बिदा दिँदै आएको छ। नगरपालिकाकै आयोजनामा हुने यस महोत्सवमा तामाङ र नेवार समुदायका सांस्कृतिक झाँकी प्रदर्शन गरिनुका साथै स्थानीय उत्पादनको समेत प्रदर्शनी गरिन्छ।

काठमाडौँ उपत्यकासहित नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रसुवा, दोलखा, रामेछाप, सिन्धुली, धादिङ, चितवन लगायतका विभिन्न जिल्लाबाट भक्तजनहरू मेला भर्न कागेश्वरी पुग्ने गरेका छन्। कागेश्वरी मन्दिरसम्म पुग्न नभ्याउने भक्तजनहरूले भने हनुमानढोका, पशुपति क्षेत्र तथा देशका अन्य स्थानमा रहेका कागेश्वर मन्दिरमा पुगी पूजाआराधना गर्ने गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट