उपत्यकामा ट्राफिक नियम उलङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा
काठमाडौँ उपत्यकामा ट्राफिक नियम उलङ्घन गर्ने ४७० सवारीसाधनलाई प्रहरीले एकै दिन कारबाही गरेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार शनिबार सञ्चालन गरिएको विशेष चेकिङका क्रममा ती सवारीसाधन कारबाहीमा परेका हुन्।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार कारबाहीमा पर्नेहरूमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ९९ जना, सिसी क्यामरामार्फत अनुगमन गरी कारबाही गरिएका ४० जना र रातो बत्ती मिचेर सवारी चलाउने ३७ जना चालक रहेका छन्।
यस्तै, तीव्र गतिमा सवारी चलाउने ११५, जथाभावी हर्न बजाउने नौ, लेन अनुशासन पालन नगर्ने दुई, ‘वान वे’ (एकतर्फि सडक) मा सवारी साधन चलाउने सात र अन्य विभिन्न कसुरमा संलग्न १६१ सवारीसाधनलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
चाडपर्व तथा दसैँको समयमा हुन सक्ने सम्भावित दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा कडा निगरानीका साथै कारबाही अभियानलाई तीव्र बनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस