Techie IT
२०८२ श्रावण ३०, शुक्रबार

उत्तराखण्डको बाढीमा १७ भन्दा बढी नेपाली बेपत्ता


भारतको उत्तराखण्ड राज्यमा आएको भीषण बाढीमा परी कम्तीमा १७ जना नेपाली नागरिक बेपत्ता भएका छन्। उनीहरू मध्य बर्दिया र जाजरकोटका गरी १३ जना नेपाली सम्पर्कविहीन रहेको जनाइएको छ भने थप चार जना मधुवन नगरपालिका क्षेत्रका नेपालीको अवस्था अज्ञात छ।

बर्दियाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बाढी प्रभावित क्षेत्रमा रहेका नेपाली नागरिक र तिनका आफन्तमार्फत १३ जना नेपाली बेपत्ता भएको जानकारी आएको बताए। उनका अनुसार, तीन जना नेपाली घाइते भएको पनि पुष्टि भएको छ। “मन्त्रालयमा जानकारी गराइसकेका छौं, दूतावासमार्फत समन्वय भइरहेको छ भन्ने बुझिएको छ,” पौडेलले भने।

यता, जाजरकोटको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले विज्ञप्ति जारी गर्दै गाउँपालिकाका १३ जनाभन्दा बढी नागरिक सम्पर्कविहीन रहेको जनाएका छन्। उनले बेपत्ताहरूको खोजी तथा उद्धार कार्यलाई द्रुत र प्रभावकारी बनाउन संघीय तथा प्रदेश सरकारलाई कूटनीतिक पहलका लागि ध्यानाकर्षण गराएका छन्।

अध्यक्ष बस्नेतका अनुसार, बाढीमा बेपत्ता भएका मानबहादुर सिंहका छोरा नवीन सिंहले बुबासहित सात जनाको बेपत्ता भएको जानकारी फोनमार्फत दिएका छन्। नयाँ दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर प्रकाश मल्लले उत्तराखण्डका स्थानीय अधिकारीहरूसँग खोज तथा उद्धारका लागि समन्वय भइरहेको जनाएका छन्। “अहिलेसम्म यकिन विवरण पाएका छैनौं, परिवारबाट आएको सूचना मात्रै हो,” मल्लले भने, “भोलिसम्ममा मात्र आधिकारिक विवरण आउने भारतीय अधिकारीहरूले जनाएका छन्।”

साउन २० गतेको अविरल वर्षापछि उत्तराखण्डमा आएको बाढी–पहिरोमा परी मधुवन नगरपालिकाका चार जना नेपाली पनि सम्पर्कविहीन भएका छन्। मधुवन नगरपालिकाका प्रमुख तेजबहादुर भाटका अनुसार, बेपत्ताहरूका परिवारले इलाका प्रहरी कार्यालय ढोडरी मधुवनमा निवेदन दर्ता गराएका छन्।

बेपत्ताहरूमा मधुवन–६ का ३९ वर्षीय नरेन्द्र खड्का, उनकी श्रीमती सरस्वती भण्डारी खड्का, २ वर्षीय छोरा रोमन खड्का र वडा नम्बर ५ की अमृता परियार छन्। उनीहरू वैशाखमा मजदुरी गर्न भारत गएका थिए। चित्रबहादुर पौडेलमार्फत सम्पर्क गर्दा उनीहरू उत्तराखण्डको पौडी जिल्लास्थित बाँकुडा गाउँमा रहेको पत्ता लागेको भाटले जनाएका छन् ।

स्थानीय स्रोतका अनुसार, बाढीपहिरोमा परी केही नेपाली घाइते भएका छन् र उनीहरूको उपचार स्थानीय मेडिकलमा भइरहेको छ। बाढीपछि प्रभावित क्षेत्रबाट हालसम्म १९० जनालाई उद्धार गरिएको छ भने उद्धार कार्य अझै जारी रहेको छ।

उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्कर सिंह धामीले हेलिकप्टरमार्फत बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका छन्। स्थानीय अधिकारीहरूका अनुसार, एकै स्थानमा अत्यधिक वर्षा भएपछि क्लाउडबर्स्ट (अत्यधिक चट्याङसहितको वर्षा) भएर आएको बाढीले ठुलो जनधनको क्षति गरेको हो।

बीबीसी हिन्दीका अनुसार, पश्चिमी हिमालय क्षेत्रमा पर्ने उत्तराखण्ड आकस्मिक बाढी र पहिरोको दृष्टिले अति संवेदनशील क्षेत्रमा पर्दछ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट